सेनाबारे के भन्छन् राष्ट्रपति, प्रधानमन्त्री र सेनापति ?

काठमाण्डु टुडे २०७० फागुन १५ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, १५ फागुन – राष्ट्रपति रामवरण यादवले राष्ट्रको विकास र सुरक्षामा नेपाली सेनाले निर्वाह गरेको भूमिका विशिष्ट र उदाहरणीय रहेको बताएका छन् ।

nepali senaसेना दिवस–२०७० का अवसरमा शुभकामना सन्देश दिँदै यादवले सेनाले इतिहासको हरेक मोडमा गरेका उल्लेखनीय व्यावसायिकता प्रदर्शन, राष्ट्र र जनताप्रतिको निष्पक्ष सङ्कल्प र समर्पण अद्धितीय रहेको उल्लेख गरेका छन् ।

‘नेपाली सेनाले देश र जनताको खातिर आफ्नो आदर्श वाक्यअनुरुप गरेको समर्पण र बलिदानको उच्च सम्मान गर्न चाहन्छु’ सेनाका परमाधिपतिसमेत रहेका यादवले भनेका छन् । उनले नेपाली सेनाको गौरवमय परम्परा, मूल्य मान्यता र त्यागलाई कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित हुनसमेत निर्देशन दिएका छन् ।

सेना दिवसकै अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले एक सन्देश जारी गर्दै राष्ट्रिय सुरक्षाको विश्वासिलो, भरपर्दो, विवादरहित, व्यावसायिक र सक्षम अगका रुपमा नेपाली सेनाले आफूलाई खरो उतारेको उल्लेख गरेका छन् ।

‘राष्ट्रको सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता कायम राख्दै राष्ट्रिय एकताको भावनालाई अभिवृद्धि गर्न यो राष्ट्रिय संस्था इतिहासको कुनै पनि कालखण्डमा कहिल्यै चुकेको छैन’, सन्देशमा उनले भनेका छन् ।

यस्तै प्रधानसेनापति गौरवशम्शेर जबराले नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण र संस्थागत सुदृढीकरण गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us