सचिवको भाषणमा मन्त्रीको ताली !

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:२८ मा प्रकाशित

khagrajकाठमाण्डु, १५ फागुन – सामान्यतया मन्त्रीहरुले भाषण गर्ने, निर्देशन दिने मन्त्रीहरुको काम हो । मन्त्रीको अनुपस्थितिमा सचिवहरुले पनि यस्ता निर्देशन दिइरहेका हुन्छन् । तर सचिवले बहालबाला मन्त्रीको अघि भाषण गरेर उनैले सम्हालेको मन्त्रालयको कामका विषयमा छानविन गर्न निर्देशन दिएको भने कमै देखिन्छ ।

तर, यस्तो दृष्य विहीबार स्वास्थ्य मन्त्रालय परिषरमा देखियो । ‘गुणस्तरीय स्वास्थ्य सेवा, देश विकासका लागि टेवा’ भन्ने नाराका साथ विहीबार स्वाथ्य मन्त्रालयले मनाएको दोस्रो स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा मुख्य सचिव लीलामणि पौडेलले स्वास्थ्य मन्त्रालयले खरिद गरेको औषधिबारे छानविन गर्न निर्देशन दिइरहँदा स्वाथ्यमन्त्री खगराज अघिकारीले मजैले ताली बजाए ।

जुन छानविनको आदेश उनकै मन्त्रालयसँग सम्बन्धित थियो ।

उता पौडेलले भनिरहेका थिए, ‘औषधि खरिद तरिका (प्रोक्योमेन्ट), औषधिको गुणस्तर तथा म्याद (समयावधि) बारे प्रश्न उठेका छन् । एउटा स्वास्थ्य चौकीमा चार पाँच महिना मात्र म्याद भएका औषधि गएका छन् भन्ने सुनेको छु । यो के भएको हो तुरुन्त छानबिन अगाडि बढाउनुहोस् ।’

यसबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उनले निर्देशन दिएका छन् ।

‘एकजनाको व्यक्तिगत स्वार्थ, उसले गरेका लाभहानिको निर्णयले संवेदनशील सेवा दिने स्वास्थ्य निकाय बदनाम हुनुहुँदैन, पौडेलले भने, ‘यस्ता व्यक्तिलाई पहिचान गरी मुन्टो उठाउन नमिल्ने गरी कारबाही गर्नुस्, जुन कारबाहीले गर्दा अरुले यस्ता हर्कत गर्न सोच्न पनि नसकोस् ।’

मुख्य सचिव पौडेलले छानबिनका क्रममा दल, पद, माथिका मान्छेका कुरा नसुन्न र कसैसँग सम्झौता नगर्न आग्रहसमेत गरे । साथै मुख्य सचिव पौडेलले स्वास्थ्य शिक्षाका नाममा व्यापार गरिराखेका मेडिकल कलेजहरुबाट उत्पादन भएका जनशक्तिलाई कम्तीमा एक वर्ष सोही जिल्लामा काम नगरी उत्तीर्ण भएको प्रमाणपत्र नदिने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई आग्रह गरे ।

सोही कार्यक्रममा सम्बोधन गरेका मन्त्री अधिकारीले भने जनताले स्वास्थ्य निकायबाट प्रदान गरिने सेवाबारे प्रश्न गरेकाले यसको जवाफ स्वरुप अनुशासित भई गुणस्तरीय सेवा दिनुपर्ने बताए ।

स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आफूले छलफल गरिराखेको र नयाँ कार्यक्रम ल्याउने सोच बनाएको जानकारी उनको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us