सवारीको ठक्कबाट तीन चित्तल मरे

काठमाण्डु टुडे २०७० फागुन १५ गते ८:२६ मा प्रकाशित

Thumbnails1_(R)Photo-0111aचितवन, १५ फागुन – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगर खगेरी पुल नजिक आज बिहान सवारी साधनले ठक्कर दिँदा तीनवटा बयस्क मृग (चित्तल) मरेका छन् ।
अर्को एक मृग घाइते भएकाले टिकौलीस्थित सशस्त्र प्रहरीको कार्यालयमा उपचारका लागि राखिएको छ । वन्यजन्तुको कोरिडोर क्षेत्रमा चित्तल मरेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र बीसहजारी ताल क्षेत्रसँग जोडिएको टिकौली जङ्गलबाट सडक पार गरेर अर्को छेउको जङ्गलमा जान थालेका मृगको बथानलाई गाडीले ठक्कर दिएको हो । यो संरक्षित वन्यजन्तु हो ।
मध्यवर्ती क्षेत्रको कोरिडोरका रुपमा रहेको टिकौली जङ्गलमा मृगहरुको राम्रो बासस्थान छ । बाघ तथा ठूला जनावरको आहारा मृग मानव अतिक्रमणका कारण संकटमा पर्दै गएको छ ।
जङ्गलकै बीचमा मुख्य राजमार्ग हुनाले पनि मृगसहित अरु थुप्रै वन्यजन्तुले अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जसहितका संरक्षण गर्ने निकायहरुले बाघ, गैँडाजस्ता वन्यजन्तुको संरक्षण कार्यक्रम चलाए पनि यस्ता आहारा प्रजातिका वन्यजन्तुको संरक्षणमा खासै ध्यान दिन नसकेको संरक्षणकर्मीहरुको गुनासो छ ।
मरेको मृगलाई निकुञ्जको संरक्षणमा रहेका बाघको आहाराका लागि प्रयोग गरिने चितवन वन कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us