मागबारे प्राध्यापकद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाण्डु टुडे २०७० फागुन १५ गते ८:१६ मा प्रकाशित

sushil_koiralaकीर्तिपुर, १५ फागुन – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले विश्वविद्यालय समक्ष राख्दै आएका मागबारे विहीबार प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएको छ ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी संघका अध्यक्ष योगेन्द्रनारायण बडवरियालगायतका प्राध्यापकको टोलीले मागबारे ध्यानाकर्षण गराएको हो ।

त्रिवि प्रशासनसँग विगतमा उठाएका माग तथा मागको सम्बन्धमा प्रशासनकातर्फबाट गरिएको सहमति लामो समयसम्म कार्यान्वयन नभएको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको भेटमा संलग्न संघका अध्यक्ष बडवरियाले बताए ।

उनका अनुसार भेटमा विश्वविद्यालयमा करार सेवाका प्राध्यापकको स्थायी प्रक्रिया, प्राध्यापकको बढेको तलब व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

त्रिवि प्राध्यापक सङ्घ र विश्वविद्यालय प्रशासनबीच विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै केही दिन यता सङ्घको अगुवाइमा प्राध्यापकहरु विश्वविद्यालयको केन्द्रीय कार्यालयमा चरणबद्ध धर्नामा बस्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us