ओली निवासमा डनहरुको बाक्लो आउजाउ

काठमाण्डु टुडे २०७० फागुन १५ गते ६:४१ मा प्रकाशित

Done-Oliकाठमाण्डु, १५ फागुन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कार्यभार ग्रहण गरेलगत्तै गृह प्रशासन मातहतका निकायलाई पाँच बुँदे लिखित निर्देशन दिए ।

निर्देशनको दोस्रो बुँदामा राजधानीलगायत देशका विभिन्न स्थानमा व्याप्त गुण्डागर्दी नियन्त्रण गर्ने उल्लेख छ ।

‘उपत्यकालगायत मुलुकभित्र विद्यमान गुण्डागर्दी र दादागिरीलाई कानुन बमोजिम नियन्त्रण गर्नको लागि विशेष अभियान सञ्चालन गरी सर्वसाधारणलाई शान्ति, सुरक्षा र अमनचयनको पूर्ण प्रत्याभूति प्रदान गर्ने’ । तर, गौतमलाई उपप्रधान र गृहमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका एमाले नेता केपी शर्मा ओली भने डनहरुको संरक्षण गरिरहेका छन् ।

स्रोतका अनुसार प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका डनहरु दिनेश अधिकारी ‘चरी’ र सुजन पौडेल (रमेश बाहुन) को ओली निवास बालकोटमा बाक्लै आवतजावत हुने गरेको छ ।

राजधानीमा लामो समयदेखि गुण्डागर्दी गर्दै आएका बाहुनलाई ओलीले गत वर्षको माघ १२ गते रामेछापमा आयोजित एक कार्यक्रममा टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

दर्जनौं व्यापारीलाई धम्क्याएर रकम असुलेको उजुरीका आधारमा बाहुन प्रहरीको मोस्टवान्टेड सूचीमा छन् । तर, ओलीको दाहिने हात भएका कारण उनलाई प्रहरीले पक्रन सकेको छैन ।

को हुन रमेश बाहुन ?
प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका रमेश बाहुन नेपाली सेनाका भगौडा हुन् । उनले भूमिगत रुपमा  व्यापारीलाई आतंकित बनाउँदै आएका छन् । उनले विगत सात वर्षयता रकम असुलीका लागि भूमिगत समूह बनाएर परिचालन गर्दै आएका छन् ।

सेनाको कमान्डो तालिम गरेका बाहुन एकपटक जेल बसेर रिहा भएका हुन् । त्यसयता उनको धन्दा थप मौलाएको छ । उनले व्यापारी धम्क्याएर करोडौं रकम उठाएको उजुरी प्रहरीमा छ । उनले कतिपय अवस्थामा प्रहरीलाई समेत धन्धाका लागि प्रयोग गर्ने गरेका छन् ।

बाहुनको निर्देशनमा व्यापारीसँग चन्दा असुल्दै गर्दा गत वर्ष प्रहरीले काठमाण्डु परिसरमा कार्यरत प्रहरी हवल्दार राजकुमार तामाङ र बाहुनका सहयोगी कृष्ण गौतमलाई पक्राउ गरेका थियो । उनले काभ्रे, दोलखा, रामेछापलगायत जिल्लाको ठेक्कामा हालिमुहाली जमाउँदै आएका छन् ।

चरी पनि ओली निवासमै
ओली निवासमा बाक्लो आवत जावत गरिरहने अर्का डन हुन दिनेश अधिकारी उर्फ चरी । धादिङ त्रिपुरेश्वर गाविस खहरे स्थायी घर भएका चरी एमाले धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्षसमेत छन् ।

उनको नेता ओलीसँग नजिकको सम्बन्ध छ । आपराधिक पृष्ठभूमिका चर्चित गुण्डा नाइके चरी पनि प्रहरीको मोष्टवान्टेड सूचीमा छन् । प्रहरीमा उनीमाथि गोलीकाण्ड, फिरौती र लुटपाटलगायत दर्जनौं मुद्धा छन् । उनले एमाले नेता गोकर्ण विष्टमाथि मन्त्री भएकै दिन केही वर्षअघि खुकुरी प्रहार गरेका थिए ।

यसअघि रमेश खरेल काठमाण्डु प्रहरी प्रमुख हुँदा आत्मसमर्पण गरेका चरीलाई सयपटक भने खरेलले पक्रन सकेका छैनन् । त्यसबेला उनी ७ महिना जेल बसेर छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us