आत्मघाती आक्रमणमा नौ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० फागुन १४ गते १०:१८ मा प्रकाशित

अफगानिस्तान, १४ फागुन – दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तको प्रान्तीय राजधानी टिरिनकोटमा अवस्थित एक होटलमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको समाचार छ । गएराति भएको आक्रमणमा करिब ४० जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सुरुमा प्राप्त समाचार अनुसार विस्फोटक पदार्थले भरिएको ज्याकेट पहिरिएका एक आत्मघाती आक्रमणकारीको आक्रमणमा नौ जनाको मृत्यु भएको र अन्य ३७ जना घाइते भएको प्रान्तीय प्रहरी प्रमुख मटिउल्लाह खानले सिन्ह्वाले बताए ।

विस्फोटनबाट होटेलको भवन ध्वस्त भएको जनाइएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको जनाइएको छ । यस आक्रमणबाट घाइते भएका सबै सर्वसाधारण भएको बताइएको छ ।

यस आक्रमणबाट थुप्रै पसलहरू र कार समेत क्षतिग्रस्त भएको  छ । यस आत्मघाती आक्रमणको हालसम्म कुनै पनि आतंककारी समूहले जिम्मा लिएको छैन, तर यस प्रकारका आक्रमणहरूमा प्रायः तालिवान आतङ्ककारीको हात हुने गरेको हुनाले यस आक्रमणमा पनि तिनीहरूकै हात रहेको प्रहरीले अनुमान गरेको छ ।

संयुक्त राष्ट्र संघका अनुसार गतवर्ष तालिवानसँग आवद्ध विभिन्न आतङ्ककारी आक्रमणमा करिब दुई हजार ९०० सर्वसाधारणको मृत्यु हुनुको साथै पाँच हजार ७०० व्यक्ति घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us