चापाकोटलाई राष्ट्रपति रनिङ् कप उपाधि

काठमाण्डु टुडे २०७० फागुन १४ गते २:४९ मा प्रकाशित

स्याङ्जा, १४ फागुन । स्याङ्जा जिल्लास्तरीय चौथो राष्ट्रपति कप रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि चापाकोटस्थित गङ्गालाल उच्च माविले जितेको छ ।मङ्गलबार सम्पन्न फाइनल चरणको खेलमा कुल १११ अङ्कसहित गङ्गालाल उच्च मावि जिल्ला उत्कृष्ट भएको हो ।

यसैगरी जनज्योति उच्चमावि कुवाकोट कुल ७५ अङ्कसहित द्वितीय भएको छ भने जनप्रिय उच्चमावि चिन्नेबास तृतीय भएको छ । चिन्नेबासले कुल ५३ अङ्क पाएको थियो ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूले क्रमश: रु १५ हजार, ११ हजार र नौ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी एथलेटिक्सतर्फ पनि गङ्गालाल उच्चमावि नै प्रथम भएको छ भने जनज्योति उमावि र बैंडी मावि चापाकोटले क्रमश: द्वितीय र तृतीय स्थान प्राप्त गरेका छन् ।

यसैगरी छात्र भलिबलतर्फ जनहित उच्चमाविका प्रेमसिं राना र छात्रा भलिबलतर्फ जनप्रिय उच्चमावि चिन्नेबासकी आशा गुरुङ उत्कृष्ट घोषित भएका छन् भने एथलेटिक्सतर्फ पीताम्बर उच्चमावि क्याक्मीका छात्र मोहन राना र छात्रातर्फ जनप्रिय मावि स्वरेककी सिर्जना पौडेल उत्कृष्ट घोषित भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मणिराम पौडेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले खेलकुदले विद्यार्थीहरूलाई जोस, जागर प्रदान गर्नुका साथै अनुशासित बन्न प्रेरित गर्ने बताउनुभयो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us