कता हराए, राजु परियार !

काठमाण्डु टुडे २०७० फागुन १३ गते ४:३८ मा प्रकाशित

rajuकाठमाण्डु, १३ फागुन – नेपाली लोकसंगीतका सर्वाधिक सफल गायक राजु परियारबारे धेरैलाई अत्तोपत्तो छैन । नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् ।

उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ ? के गर्दै छन् ? किन गाउने छाडे गीत ? भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाण्डूमा झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो ।  लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ ।

बरिष्ठ गायिका बिमाकुमारी दुरा भन्छिन् ‘मैले त राजु भाईको मुख देख्न नपाएको जुगौं भयो ।’ परियार र दुराको पुरानो घर लम्जुङ्ग नै हो ।  दुरा थप्छिन् ‘ पोखरा बस्छ भन्ने सुनेकी छु, कहिले कांही फोन गरेर आउंछु त भन्छ तर कता जान्छ कता ?’ तीजताका एक दुईवटा गीतमा स्वर दिएका थिए राजुले । संकलक एकनारायण भण्डारीले केही दिन अघि राजुलाई काठमाण्डुमा भेटेको सुनाए ।  भण्डारी भन्छन् ‘ राजुको स्वर बिस्थापित हैन, गायकीमा समस्या छैन तर स्टुडियोमा समय नदिने समस्या ठूलो हो ।’ एकनारायणले राजुको स्वरमा केही दिन अघि गीत पनि रकेर्ड गराएको बताए । मोवाइल नम्बर फेरिरहने र स्थायी बसोबासको थाहा नहुंदा धेरैले राजुको स्वरमा गीत रेकर्ड गराउन पाएका छैनन् ।

raju pariyarगीतको मर्म नबिग्रने गरि गीत गाउने सफल गायकको कोटीमा राजु पर्छन् । पछिल्लो समयमा घरायशी समस्याले बिछिप्त भएका राजु अहिले पोखरा बस्ने हल्ला छ । प्रिज्म रेकर्डिङ्ग स्टुडियोका प्रमुख तथा म्यूजिक एरेन्जर बिबि अनुरागीले राजु परियारको जत्तिको अझै सम्म कसैको स्वर नभएको बताए । अद्भूत जादू छ राजुको स्वरमा तर चाहिएका बेला सम्पर्कमा नै हुन्नन् अनुरागी भन्छन् ‘ फाट्टफुट्ट गीत रेकर्ड भाको छ, मैले पनि राजुलाई गीत बनाइदिएको छु ।’ देश विदेशमा हुने सांगीतिक कार्यक्रममा उनको माग निक्कै बढ्दो छ । तर उनी सम्पर्कमा छैनन् ।

बिबी अनुरागीका अनुसार विदेशमा कार्यक्रममा लैजान पटक पटक फोन आइरहन्छ तर उनको पत्तो हुंदैन । ०६२ सालतिर राजुले एकै दिनमा झण्डै ५। ६ वटा गीत रेकर्ड गर्थे । एउटा गीत गाएको पांच हजार पारिश्रमिक लिने राजुको माग अहिले पनि उस्तै छ । उनले गाएका फूलमा मौरी, डुल्ने बेलामा, धोका दिनेलाई के भनौं र खोई, भैंसी पालेर, रुमाल धोको छु, सुनपानी, लालुपाते नुग्यो भूंइतिरलगायत हजारौं गीत सफल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us