विकसित देशको रोग

काठमाण्डु टुडे २०७० फागुन ११ गते १८:१५ मा प्रकाशित

writer

अर्थशास्त्रलाई अक्सर निराशाजनक विज्ञान भन्ने गरिन्छ । र, विगत आधा दशकयता भने यसले आफ्नो यस ख्यातिलाई विकसित अर्थतन्त्रहरूमा इमानदारीपूर्वक स्थापित गरेको छ । दुर्भाग्यवश यो वर्ष पनि यसमा थोरै मात्र सुधार हुनेछ । अहिले ग्रीस, इटली, स्पेन, बेलायत, अमेरिका तथा फ्रान्सको वास्तविक प्रतिव्यक्ति जीडीपी महामन्दीपूर्वको भन्दा पनि कम छ । वास्तवमा ग्रीसको प्रतिव्यक्ति जीडीपी त सन् २००८ यता २५ प्रतिशतको हाराहारीमा खुम्चिइसकेको छ ।

यसमा केही थोरै अपवाद छन् : दुई दशकभन्दा धेरै समयपछि प्रधानमन्त्री सिञ्जो आवे सरकारको नेतृत्वमा जापानको अर्थतन्त्रले एउटा मोड लिन थालेको देखिन्छ । तर, सन् १९९० देखि विद्यमान रहेको विस्फीतिको विरासतसहित यो फिर्तीयात्रा तय गर्न निकै समय लाग्न सक्छ । साथै, जर्मनीको वास्तविक प्रतिव्यक्ति जीडीपी सन् २००७ को तुलनामा २०१२ मा धेरै भए तापनि ५ वर्षको अन्तरालमा भएको ३ दशमलव ९ प्रतिशतको वृद्धिलाई सन्तोषजनक मान्न सकिन्न ।

अन्यत्रको अवस्था साँच्चै निराशाजनक छ : यूरोजोनमा बेरोजगारी समस्या निकै उच्च भइरहेको छ भने अमेरिकाको दीर्घकालीन बेरोजगारी दर मन्दीपूर्वको स्तरभन्दा बढेको अवस्था छ ।

यूरोपमा यस वर्ष वृद्धिदर बढ्न थालेको जस्तो देखिए पनि उत्पादनमा १ प्रतिशत वार्षिक वृद्धि हुने अन्तरराष्ट्रिय मुद्राकोषले गरेको प्रक्षेपणलाई हेर्ने हो भने यो पनि फिक्का हो । वास्तवमा आईएमएफको प्रक्षेपण धेरै नै आशावादी हुने गरेको बारम्बार प्रमाणित भइरहेको छ : कोषले २०१३ मा यूरोजोनको वृद्धि शून्य दशमलव २ प्रतिशत हुने भविष्यवाणी गरेको थियो । तर, वास्तविकतामा त्यो शून्य दशमलव ४ प्रतिशतको सङ्कुचन पो हुने भएको छ । उसले अमेरिकाको वृद्धिदर २ दशमलव १ प्रतिशत पुग्ने भविष्यवाणी गरेकोमा वास्तवमा त्यो लगभग १ दशमलव ६ प्रतिशतको नजीकमात्र देखिएको छ ।

यूरोजोनको त्रुटिपूर्ण संस्थागत डिजाइनका कारण उब्जिएका संरचनागत समस्याहरूको सम्बोधन गर्न यूरोपका नेताहरूले कछुवाको गति अपनाएका छन् र उनीहरू खर्च घटाउने रणनीतिप्रति अत्यन्तै आबद्ध छन् । यस परिप्रेक्ष्यमा हेर्दा यूरोप महादेशको सम्भावना अन्धकारमय देखिएकोमा आश्चर्य नमान्दा हुन्छ ।

तर, एटलाण्टिक महासागरको अर्कोतर्फ रहेको अमेरिकामा भने दबिएको आशावादिता देखा परिरहेको छ । अमेरिकाको संशोधित तथ्याङ्कले सन् २०१३ को तेस्रो त्रैमासमा अमेरिकाको वास्तविक जीडीपी वृद्धि ४ दशमलव १ को वार्षिक गतिमा रहेको देखाएको छ । जब कि ५ वर्षकै न्यूनतम दरका रूपमा नोभेम्बरमा बेरोजगारी दर ७ प्रतिशत पुगेको थियो । गत ५ वर्षयता निर्माणकार्य न्यून रहेकाले ‘हाउजिङ बबल’को अवधिमा देखिएको आवश्यकताभन्दा बढी घरको सङ्ख्या घटाउन ठूलो भूमिका खेल्यो । अथाह भण्डार रहेको ‘शेल’ ऊर्जाको विकास गरेर अमेरिकाले ऊर्जामा आत्मनिर्भरतातर्फ कदम बढाउँदै ग्यासको मूल्यमा कीर्तिमानी कमी ल्याएर म्यानुफ्याक्चरिङ क्षेत्रको पुनरुत्थान हुने आशाको किरण जगाउनसमेत योगदान गरेको छ । साथै, अमेरिकाको तीव्रगतिमा विकास भइरहेको उच्चप्रविधि क्षेत्र बाँकी विश्वका लागि ईष्र्या लाग्दो बनिरहेको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने अमेरिकाको राजनीतिक प्रक्रियामा थोरै मात्रामा भए पनि राजनीतिक तर्कसङ्गतकता पुनर्बहाल भएको छ । जुन स्वचालित बजेट कटौतीले २०१३ को सम्भाव्य वृद्धिदरलाई करीब १ दशमलव ७५ प्रतिशतले घटायो त्यो अझै जारी रहने भएको छ, तर निकै सह्य दरमा । यसबाहेक दीर्घकालीन वित्तीय घाटाको एक मुख्य कारक स्वास्थ्य हेरविचार लागतको वक्र केही तलतिर झुकेको छ । कङ्ग्रेशनल बजेट अफिसले २०२० मा स्वास्थ्य हेरविचार तथा स्वास्थ्य सहायता (गरीब तथा वरिष्ठ नागरिकहरूका लागि सरकारको स्वास्थ्य हेरविचार कार्यक्रम) खर्च २०१० को अनुमानित खर्चस्तरभन्दा लगभग १५ प्रतिशत कम हुने बताइसकेको छ ।

सन् २०१४ मा अमेरिकाको आर्थिक वृद्धिदर श्रमशक्तिमा थपिने नयाँ कामदारहरूका लागि आवश्यकभन्दा अधिक काम सृजना गर्न सक्ने हुन सक्छ । यसो भएमा कमसेकम पूर्णकालीन काम खोजिरहेका मानिसहरूको हालको सङ्ख्यामा २ करोड २० लाखभन्दा कम हुनेछ ।

तर, हामीले हाम्रो उत्साहलाई नियन्त्रणमा राख्नुपर्छ । हाल सृजना भइरहेका काममध्ये निकै धरै न्यून तलबमानका छन् । यसले गर्दा ‘मेडियन’ आयमा निरन्तर कमी आइरहेको छ । ९५ प्रतिशत आय १ प्रतिशत मानिसमा थुप्रिरहेको छ । तसर्थ अधिकांश अमेरिकीका लागि अर्थतन्त्रको सुधार भएको छैन ।

मन्दीअघिको समयमा पनि अमेरिकी शैलीको पूँजीवादले जनसङ्ख्याको ठूलो अंशका लागि कुनै फाइदा गरेको थिएन । मन्दीले यसको खराब पाटोलाई अझ स्पष्ट बनाइदिएको छ । ‘मेडियन’ आय ( मुद्रास्फीतिमा समायोजित) अझै १९८९ को भन्दा पनि न्यून हुनुको साथै पुरुषहरूको ‘मेडियन’ आय त चार दशकअघिको भन्दा पनि कम छ ।

अमेरिकाको नयाँ समस्या भनेको दीर्घकालीन बेरोजगारी हो । यसले रोजगारीबाट वञ्चित करीब ४० प्रतिशत मानिसलाई असर गर्छ । यसमाथि सामान्यतया २६ हप्तामा म्याद गुज्रिने अमेरिकाको बेरोजगार–बीमा प्रणाली छ । यो विकसित देशहरूमा विद्यमानमध्ये एकदम कमजोर प्रणाली हो । आर्थिक सङ्कटको समयमा कामको खोजी नगरेर भन्दा पनि कामको अभावले मानिसहरू बेरोजगार हुन्छन् भनेर अमेरिकी कङ्ग्रेसले बेरोजगारी भत्ताका लाभहरू दिने गर्छ । तर, अहिले रिपब्लिकन संसद् सदस्यहरू यस्तो बेरोजगार लाभप्रणालीलाई अहिलेको वास्तविकतासँग तालमेल गराउन अस्वीकार गरिरहेका छन् । दीर्घकालीन बेरोजगारलाई पिङ्क स्लिप (अमेरिकामा रोजगारी अन्त्यको सूचना दिन दिइने कागजात) दिएजस्तै गरेर कङ्ग्रेसको सेसन अन्त्य भयो । सन् २०१४ को शुरुआतसँगै नयाँ वर्षको शुभकामनाको रूपमा लगभग १३ लाख अमेरिकीले बेरोजगारी भत्ता गुमाए ।

यो समय अमेरिकाको बेरोजगारी दर अहिलेसम्मकै न्यून देखिनुको प्रमुख कारण त के हो भने धेरै मानिसले श्रमशक्तिबाट नाम हटाए । श्रमशक्तिमा सहभागिता तीन दशक यता नदेखिएको स्तरमा झरेको छ । केही मानिस भन्छन् यसले जनसङ्ख्याको संरचनालाई प्रतिबिम्बित गर्छ : काम गर्ने उमेरसमूहको जनसङ्ख्यामा ५० वर्ष माथिका मानिसहरूको अंश वृद्धि भइरहेको छ र युवाहरूको भन्दा यो उमेर समूहका मानिसमा श्रमशक्तिमा सहभागी हुने रुचि सधैं कम रहने गरेको छ ।

तर, वास्तवमा यसले समस्यालाई नयाँ स्वरूप दिएको छ । कामदारलाई पुनर्ताजगी तालीम दिनमा अमेरिकी अर्थतन्त्र कहिल्यै पनि उदार छैन । अमेरिकी कामदारलाई प्रयोग गरेपछि फ्याल्न मिल्ने वस्तु (डिस्पोजेबल कमोडिटी) को रूपमा व्यवहार गरिन्छ । यदि उनीहरू प्रविधि तथा बजारको परिवर्तनसँगै हिँड्न सकेनन् भने पाखा लगाइन्छन् । अहिले के फरक छ भने यस्ता कामदारहरूको सङ्ख्या जनसङ्ख्याको केवल सानो अंशमात्र रहेन अब ।

यी कुनै पनि कुरा अवश्यम्भावी भने होइनन् । खराब आर्थिक नीति र अझै खराब सामाजिक नीतिको परिणाम हो, यो । यसले देशको सबैभन्दा अमूल्य स्रोत ‘मानवक्षमता’ खेर गइरहेको छ र यसबाट प्रभावित व्यक्ति तथा उनीहरूको परिवार अथाह दुःखबाट प्रताडित भइरहेका छन् । उनीहरू काम गर्न चाहन्छन् तर, अमेरिकाको आर्थिक प्रणालीले उनीहरूलाई वञ्चित गरिरहेको छ ।

त्यसैले यूरोपको महान् रोगले सन् २०१४ मा पनि निरन्तरता पाउँदै गर्दा अनि अमेरिकी अर्थतन्त्र सुधारले सबभन्दा शीर्षस्थानमा रहेका भन्दा अरू सबैलाई ‘बाहेक’ गराइरहँदा मलाई नै निकृष्ट भनिन्छ भने ठीकै छ । एटलाण्टिक महासागरको दुवैतर्फका बजार अर्थतन्त्रहरू अधिकांश नागरिकलाई लाख दिन असफल भएका छन् । यो कहिलेसम्म जारी रहन सक्ला ?

जोसेफ . स्टिगलिट्ज–अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता जोसेफ स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् उनको हालै प्रकाशित कृति हो : प्राइस अफ इन्इक्वालिटी : हाउ टुडेज डिभाइडेड सोसाइटी इण्ड्याञ्जर्स आवर फ्युचर
©
प्रोजेक्ट सिण्डिकेट, २०१३

  आर्थिक अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us