युक्रेनका सभामुख अन्तरिम राष्ट्रपति नियुक्त

काठमाण्डु टुडे २०७० फागुन ११ गते १७:४२ मा प्रकाशित

युक्रेनको संसदले सभामुख ओलेक्जान्डर टुर्चिनोभलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको छ। राष्ट्रपति भिक्टर यानुकोभिचलाई बर्खास्त गरिए पछि यो कदम चालिएको हो।

टुर्चिनोभले सांसदहरुलाई उनीहरुले मंगलबारसम्ममा एकताको नयाँ सरकार गठन गर्नु पर्ने कुरा बताएका छन्।संसदले किएभ नजकै यानुकोभिचको आलिशान महल जफत गर्ने पक्षमा मतदान गरेको छ।

फेब्रुअरी १८ तारीख यता ८८ जनाको ज्यान गएको थाहा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेहरु मध्ये धेरै जसो प्रदर्शनकारीहरु छन्। यानुकोविच राजधानी छोडेर भागेका छन् र बरिष्ठ अधिकारीहरु बिरुद्ध हत्याका सन्दर्भमा गिरफ्तारी वारेन्टहरु जारी भएका छन्।

युक्रेन संकटको बेला रुस एकातिर र अमेरिका तथा युरोपिय संघ अर्कोतिर थिए।युरोपिय संघले नयाँ सरकारलाई सहयोग गर्न तैयार रहेको कुरा बताएको छ।

युक्रेनको संसदले जेलमा रहेकी विपक्षी नेतृ युलिया तिमोशेन्कोलाई रिहा गर्ने प्रस्तावलाई अत्यधिक मतले अनुमोदन गरे पछि उनी मुक्त भएकी थिइन्।

भूतपूर्व प्रधानमन्त्री तथा राष्ट्रपति यानुकोविचकी एक कट्टर प्रतिद्वन्द्वी तिमोशेन्को फेब्रुअरी २०१० मा भएको राष्ट्रपतीय चुनावमा सानो अन्तरले पराजीत भएकी थिइन्।

त्यसपछि सन् दुई हजार एघारमा रुससंगको एउटा ग्याँस संझौतामा अधिकारको दुरुपयोग गरेको अभियोगमा उनलाई सात बर्षको जेल सजाय सुनाइएको थियो।

उनी युक्रेनकी लोकप्रिय राजनीतिज्ञहरुमध्ये एक हुन् र उनका समर्थकहरुले उनलाई लगाइएको अभियोग झुठ्ठा भएको बताउँदै आएका छन्। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us