कतार जलस्रोत,पर्यटन,कृषि र पूर्वाधार निर्माणका ठूला परियोजनामा लगानी गर्न तयार छ

काठमाण्डु टुडे २०७० फागुन ११ गते १७:२५ मा प्रकाशित

1924490_1396283987303359_439073023_nतपाईको कतार भ्रमण कस्तो रहयो ?
हामीले अपेक्षा गरे भन्दा निकै राम्रो भ्रमण रहेको हाम्रो मूल्याङकन रहयो । अनौपचारिक भ्रमण झण्डै औपचारिक जस्तो हुन पुग्यो । हाम्रो बसाई र सुरक्षासहित सबै व्यवस्थापन त्यहाँको सरकारबाटै भयो । पूर्वप्रधानमन्त्रीका लागि हुनु पर्ने सबै व्यवस्था थियो । चीन र भारत जाँदा मैले जस्तो अनुभव गरेको थिए अहिले कतारमा पनि हाम्रो टोलीले त्यहि अनुभव गरेको छ । प्रधानमन्त्री,परराष्ट्रमन्त्री,श्रममन्त्री र सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग दुई देशको हित,त्यहाँ काम गर्ने श्रमिक,बुद्धिजीवी र व्यवसायी नेपालीका बिषयमा कुराकानी गरियो ।
कतार सरकारसँग तपाईको के कस्ता बिषयमा छलफल भयो ?
कतार निर्माणमा नेपालीहरुको ठूलो योगदान रहेको छ । जलबिद्युत,पर्यटन,कृषि र पूर्वाधारमा ठूलो मात्रामा लगानी गरेर नेपालको बिकासमा कतारले योगदान गर्नुपर्छ । प्रधानमन्त्री,परराष्ट्रमन्त्री र श्रममन्त्रीसँंग त्यहि बिषयमा केन्द्रित रहेर कुराकानी भयो । त्यहाँ काम गर्ने नेपालीहरुको सुविधा र सुरक्षासँग सम्बन्धित बिषयमा अलि बढी केन्द्रित रहेर कुराकानी भए । सरकारीस्तरमा भएका छलफल फलदायी रहे ।
सन २०२२ मा बिश्वकप प्रतियोगिता कतारमा हुँदैछ त्यसबारेमा पनि छलफल भयो कि ?
बिश्वकप प्रतियोगिताको व्यापक रुपमा तयारी भइरहेको रहेछ । प्रधानमन्त्रीसँग कुराकानी हुँदा बिश्वकप प्रतियोगिता सफल होस भनेर शुभकामना दियौ । उहाँले पनि बिश्वकप प्रतियोगितालाई सफल बनाउन नेपाल र नेपालीहरुको पनि सहयोग जरुरी रहेको धारणा राख्नुभयो । त्यसका लागि हाम्रो तर्फबाट गरिनु पर्ने सहयोग हुन्छ भनियो । त्यसको साथसाथै नेपाल निर्माणमा तपाईहरुले पनि सहयोग गर्नु पर्छ भनियो ।
नेपालीहरुसँग अन्तक्र्रिया गर्दा कस्तो पाउनुभयो ?
जनप्रगतिशिल मञ्चको कार्यक्रम नै थियो । नेपाली श्रमिक र बुद्धिजीवीहरुसँग पनि अन्तरक्रिया भयो । श्रमिकहरुका मौलिक खालका समस्या छन ।
नेपालीहरुको मानवअधिकार उल्लंघनका वारेमा अन्तराष्ट्रिय सञ्चार माध्यममा समाचार आएका छन । त्यसबारेमा बिदेशमन्त्रीसँग छलफल हुँदा कस्तो कुराकानी भयो ?
११ फागुन आइतवार बिदेशमन्त्रीसँग कुरा हुँदा कतारमा मानवअधिकारको स्थिति नाजुक छ,त्यसमा पनि नेपालीहरुको मानवअधिकारको स्थितिको समस्या संम्वेदनशिल छ भन्ने खालका समाचार मिडियामा आएका छन । त्यसबारेमा कतार सरकारको चिन्ता बिदेशमन्त्रीले गम्भीर ढंगले व्यक्त गर्नु भयो । हामीले हाम्रो नियम र कानुन अनुसार सबैलाई समान व्यवहार गरेका छौ । अन्तराष्ट्रिय मिडियामा जे जस्ता आरोप आए त्यस्तो  बिल्कुल होइन भन्ने धारणा उहाँले राख्नुभयो । यसलाई नेपालले यसरी नै बुझिदेओस,नेपालीहरुका बारेमा समस्या आएमा दुई देशका वीचमा बसेर छलफल गरी समस्याको समाधान गर्नुपर्छ भन्ने उहाँको कुरा थियो । हामीले भन्यौ ‘यी बिषयलाई सबैले ध्यान दिनुपर्छ । कतिपय बिषय कतारमा हुन लागेको बिश्वकपलाई केन्द्रीत गरेर केहि बिषय मिडियामा आ आफनो ढंगले प्रचार भएको पनि हुन सक्छ । तपाईहरुको चिन्तालाई हामी गम्भीर रुपमा लिन्छौ । कतिपय समस्या आपसी छलफल र समझदारीबाट नै समाधान गर्न सकिन्छ ।
कतारले कुन कुन क्षेत्रमा लगानी गर्न चाहेको रहेछ ?
जलस्रोत,पर्यटन,कृषि र पूर्वाधार निर्माणको क्षेत्र मध्ये कहाँ लगानी गर्दा नेपालको बिकासमा सहयोग पुग्छ त्यसबारेमा नेपाल र कतारको संयुक्त समिति बनाएर अध्ययन गरौ,त्यस्तो क्षेत्रमा लगानी गर्न हामी तयार छौ भन्ने कतार सरकारको सकारात्मक धारणा थियो ।
तपाईहरुको पार्टीको महाधिवेशनले अगाडि सारेको उत्पादन र निर्माणको योजनाका बारेमा पनि छलफल भयो कि ?
त्यहाँ हाम्रो पार्टीको बिषयमा छलफल भएन । सिङगो नेपालको समग्र बिकासमा लगानी गर्ने बिषयमा छलफल भयो । कतारको प्रतिव्यक्ति आम्दानी संसारकै सबैभन्दा धेरै छ । नयाँ नयाँ ठाउँमा तेल र ग्यास देखा परिरहेको छ । त्यसैले त्यहाँ पैसाको कमी छैन । ठूला परियोजनामा लगानी गर्ने बारेमा संयुक्त टीम बनाउने बिषयमा नै हामी केन्द्रित भयौ । हाम्रो पार्टीको बिषयमा हामीले केन्द्रित भएनौ ।
कतारको भ्रमणपछि कस्तो महसुस गर्नुभयो ?
वार्ता र सम्वाद मार्फत दुई देश वीचको सम्बन्ध बिस्तारमा नयाँ प्रक्रियाको शुरुवात भएको महसुस सबैले गरेको पाइयो र हामीले पनि त्यस्तै महसुस गरयौ ।
नेपाली राजनीतिको बारेमा पनि बताइदिनुस न ?
काँग्रेस र एमाले वीच भएको सात बुँदे सहमति कार्यान्वयन हुने भयो भन्ने सुनेको छु । उहाँहरु मिलेर सरकार बनाउनुस,सरकार राम्रोसँग चलोस भन्ने हाम्रो चाहना छ । संबिधान निर्माणमा केन्द्रित हुनुस,हामी प्रतिपक्षमा बसेर रचनात्मक र सकारात्मक रुपमा प्रतिपक्षमा रहने हाम्रो भूमिका हुन्छ ।

कतारको पाँच दिने भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पत्रकारसँग अध्यक्ष प्रचण्डले गरेको कुराकानीमा आधारित

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us