संगीत उद्योगी र उत्पादक नै सिआरविटी चोरीमा

काठमाण्डु टुडे २०७० फागुन ११ गते ४:०२ मा प्रकाशित

crrbtकाठमाण्डु, ११ फागुन– नेपाली गीत संगीतको अहिलेको बजार सिआरविटी र पिआरविटीमा अडिएको छ । क्यासेट र सिडी बिक्री हुन छोडेपछि अहिले संगीत व्यवसायीको मुख्य आम्दानी सिआरविटी नै हो । म्यूजिक व्यवसायीहरु यसलाई डिजिटल व्यापार भन्दै आएका छन् ।

तर अहिले सिआरविटी ‘चोरी धन्दा’का रुपमा परिचित बन्दै गएको छ । कलाकारले आफ्ना गीत चलेका मध्येमा पार्न र म्यूजिक कम्पनिले कमाउनकै लागि सिआरविटी र पिआरविटीको चोरी गर्दै आएका हुन् । कलाकार र कम्पनि संचालकहरु चोरी भएको भन्दै बिभिन्न सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोपमा उत्रिएका छन् । तर संगीत उत्पादक समाजका अध्यक्ष पदमबहादुर बुढाले सिआरविटी र पिआरविटीमा चोरी नभइ आफ्नै पैसा खर्च गरेर व्यवसायीले डाउनलोड गरेको दावी गरेका छन् ।

बुढा भन्छन् ‘यो चोरी हैन, आफ्नै पैसा खर्च गरेर व्यवसायीले डाउनलोड गराएका हुन् ।’ चोरी भनिदै आएको दोषको जिम्मा एनसेलले लिनुपर्ने उनको भनाई छ । बुढाका अनुसार एनसेलको सवै व्यापार उसको हातमा छ , पिआरविटी, आइभिआर, र एसएमएसमा गीत राख्न मिल्ने तरिका एनसेलले नै बनाएकाले म्यूजिक व्यवसायीले त उपयोग मात्रै गरेका हुन् ।

नेपालमा टेलिकम र एनसेलमा सिआरविटी र पिआरविटी दर्ताको काम गर्ने झण्डै आधा दर्जन संस्था छन् । उनीहरुको मनोमानीमा यस्तो काम हुादै आएको आरोप म्यूजिक कम्पनिहरुको छ । त्यसैले सिआरविटी र पिआरविटी व्यवासाय व्यवस्थित गराउन नेपाल संगीत उद्योग संघले एउटा उपसमिति समेत गठन गरेको संघका महासचिव बसन्त थापाले बताए ।

कम्पनिका साथीहरुले आफ्ना गीत अगाडि ल्याएका छन्, यसले राम्रो सन्देश जादैन त्यसैलाई रोक्न उपसमिति बनाएका हौं थापाले भने ‘व्यवसाय भनेको सवैको लागि हो जे मन लाग्यो त्यही गर्न पाइदैन । संगीत उद्योग संघका जिम्मेवार पदाधिकारी पनि आफना गीत टप टेनमा ल्याउन सक्रिय छन भन्ने सुन्नमा आएको छ त्यो समस्या उप समितिले नै टुङ्ग्याउने छ ।’ संगीत उद्योग संघ र उत्पादक समाजमा भएका धेरै पदाधिकारी नै गैरजिम्मेवारी काममा लागेका छन् । एउटा गीत एक पटक मोवाइलमा राखे वापत एनसेल र टेलिकमले १२ रुपैंयाा ४३ पैसा काट्छ । त्यसरी मोवाइलमा राखिएका गीतको विवरण टप टेन र ट्वान्टीका रुपमा रहन्छ ।

कलाकार र व्यवासायीले टप टेनमा देखाउन र कमाउनका लागि आफैले रिचार्ज कार्ड किनेर आफनै मोवाइलमा ‘प्रचेज’ गरेपछि विवाद बढेको हो । प्रचेजले अरु राम्रा गीत माथि आउने बाटो बन्द गर्ने र सधै चलेका गीतको कोटीमा पुरानै गीत देखिने हुदा अरु म्यूजिक व्यवसायीले यो कामलाई ‘चोरी धन्दा’ भन्दै आएका छन् ।

बिन्ध्यबासिनी म्यूजिक कम्पनिका संचालक सुवास रेग्मीले चोरेका गीत लाखौ डाउनलोड भएका छन त्यसको मार राम्रा गीत र चलेका कलाकारलाई परेको बताए ।  संगीत क्षेत्रमा अनुशासनहीनता बढ्दै गएको रेग्मीको तर्क छ ।

अहिले एनसेल र टेलिकमको वेभ साइडमा देखिएका अधिकाश गीत चोरबाटो हुादै  टप टेनमा परेको धेरै कम्पनि संचालकको आरोप छ । केही महिना अघि चोरीएको भन्दै आधा दर्जन बढि गीत ‘एग्रिकेटर’ले हटाएका थिए ।

म्यूजिक नेपाल, हाइलाइट्स नेपाल, आप्का, हनि, डिजिटेनमेन्टलगायतले सिआरविटी र पिआराविटीको मध्यस्तकर्ताको काम गर्दै आएका छन् । यीनै मध्यस्तकर्ताको आडमा कम्पनिले चोरी काम गर्दै आएका हुन् । सिआरविटी चोरी बढेपछि केही बर्ष अघि गायक याम क्षेत्री, संकलक शिव सुवेदी लगायतलाई प्रहरीले पक्राउ समेत गरेको थियो । र, नेपाल टेलिकमले अर्काको मोवाइलमा गीत राख्न मिल्ने प्रविधि बन्द गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us