
काठमाण्डु, ९ फागुन – मनाङ मर्स्याङ्दी क्लव राजधानीमा जारी ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधिको निकै नजिक पुगेको छ । सुपरसिक्स चरण अन्तर्गत शुक्रबार भएको खेलमा संकटा क्लवलाई २–० गोल अन्तरले पराजित गरेसँगै मनाङ उपाधिको नजिक पुगेको हो ।
३२ अंक जोडेको मनाङले दोस्रो स्थानको टिमसँग ४ अंकको अग्रता कायम गरेको छ । दोस्रो र तेस्रो स्थानमा रहेका मच्छिन्द्र र थ्रीस्टारको समान २८ अंक छ ।
दशरथ रंगशालामा दिउँसो भएको खेलमा मनाङलाई जिताउन अनिल गुरुङ र योना एलियासले गोल गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ४८ औं र ५० औं मिनेटमा मनाङले गोल गरेको थियो । मनाङले अन्य केही राम्रा अवसरसमेत पाएको थियो, तर सदुपयोग गर्न सकेन ।
यस्तै सुपरसिक्समा एउटा पनि जित दर्ता गर्न नसकेको संकटाले केही अवसर पाएपनि गोल गर्न सकेन । अब प्रत्येक टिमले दुई–दुई खेल खेल्न बाँकी छ ।