गृहबारे प्रभाकरले सोधे, ‘खास कुरा के हो ?’

काठमाण्डु टुडे २०७० फागुन ९ गते ७:३४ मा प्रकाशित

Prabhakarकाठमाण्डु, ९ फागुन – एमाओवादी नेता एवम् सभासद जनार्दन शर्मा प्रभाकरले काँग्रेस र एमालेबीच गृहमन्त्रालयका विषयमा भएको भनिएको सहमतिबारे प्रष्टपार्न माग गरेका छन् ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा प्रधानमन्त्रीलाई शुभकामना दिनेक्रममा बोल्दै प्रभाकरले यस्तो माग गरेका हुन् ।

‘काँग्रेस सहमति भएको छैन भन्छ, एमालेले सहमति भएको भनिरहेको छ, उनले भने, ‘खास कुरा के हो ? जनताले जवाफ खोजिरहेका छन् ।’

साथै उनले राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएको निर्देशन असंवैधानिक भएको बताएका छन् । एमाओवादीकातर्फबाट बोलेका उनले सत्य निरुपण तथा मेलमिलाप आयोग तुरुन्त गठन गर्न मागसमेत गरेका छन् ।

यस्तै बैठकमा बोल्दै एमाले सभासद रविन्द्र अधिकारीले काँग्रेस र एमालेबीचको ७ बुँदे सहमति सत्ताका लागि नभई संविधानका लागि भएको जिकिर गरे । सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको उनको भनाई छ ।

यसैगरी फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले काँग्रेस–एमालेले गणितीय बलमा पेल्न खोजेको आरोप लगाएका छन् । ‘गणितीय बलमा विद्रोही शक्तिलाई पेल्न खोजिएको छ, उनले भने, ‘यस्तो हो भने दुर्भाग्यपूर्ण हुनसक्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us