एसियाकै ठूलो त्रिशूल हेर्न पर्यटक वृद्धि

काठमाण्डु टुडे २०७० फागुन ९ गते ५:३० मा प्रकाशित

200px-Trishula.svgतानसेन, ९ फागुन – एसियाकै सबैभन्दा ठूलो मानिएको त्रिशूल रहेका कारण पाल्पा भैरवमन्दिरमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ ।

भैरवमन्दिरमा रहेको त्रिशूल एसियाको सबैभन्दा ठूलो रहेको भन्दै प्रचारप्रसार गरेपछि यस मन्दिरमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक आगमनमा एक्कासि वृद्धि भएको हो ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेका कारण यस मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू निकै बढी आउने गरेको स्थानीयवासीको भनाइ छ ।

हाल दैनिक ५० देखि ५०० सम्म मन्दिरको दर्शन र त्रिशूल अवलोकन गर्न आउने गरेको स्थानीयवासीको भनाइ छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि झन्डै नौ किमी पश्चिमस्थित भैरवस्थान गाविस–५ मा सो मन्दिर रहेको छ । रुपन्देही जिल्लाको भैहवाका श्याम श्रेष्ठ मन्दिरमा पूजापाठ गरेकोमा सुखशान्ति मिल्ने भएकाले दर्शन गर्न आएको बताउँछन् ।

स्थानीय गणेश ज्ञवालीका अनुसार भैरवमन्दिरअगाडि रहेको एसियाकै ठूलो त्रिशूल सुनको लेपले निर्मित छ । पहाडको टापुमा भैरवमन्दिर रहेकाले हिमालका सुन्दर दृश्य सजिलै देख्न सकिने भएकाले बाह्य तथा आन्तरिक पर्यटक आकर्षित बनेका मन्दिर व्यवस्थापन समितिका सदस्य लोकनाथ शर्मा बताउँछन् ।

–मन्दिरमा आम्दानी भएको रकम मन्दिर व्यवस्थापन समितिको खाताको बैंकमा जम्मा गरी राखिएको छ,’ शर्माले भने, ‘पाल्पा जिल्लामा आएका बाह्य पर्यटकहरू भैरवमन्दिरमा नपुगी बुटबल जाँदैनन् ।’

शनिबार र मंगलबार विशेष पूजा हुने मन्दिरमा बाह्रै महिना पूजा चल्ने गर्छ । सेनकालीन यो मन्दिरमा रोट, बोका, हाँस, पाडा, कुखुराको भाले पनि चढाउने चलन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us