युक्रेनमा मन्त्रिपरिषद भवन खाली

काठमाण्डु टुडे २०७० फागुन ८ गते १७:०० मा प्रकाशित

युक्रेनको राजधानी कियभमा सरकारविरोधी प्रदर्शनकारीहरु तथा प्रहरीबीच भएको पछिल्लो भीडन्तमा बीसजना भन्दा बढी प्रदर्शनकारीहरुको ज्यान गएको छ। बुधबार राती राष्ट्रपति यानुकोविच तथा विपक्षी नेताहरुले भीडन्त अन्त्य गर्न सहमति जनाएपनि बिहीबार बिहान हिंसा फेरि चर्किएको थियो।

भीडन्त रोक्न भएको भनिएको सहमति भङ्ग भएपछि मैदान भनिने राजधानी कियभको इन्डिपेन्डेन्स स्क्वायरमा बिहीबार बिहानै हिंसात्मक भीडन्तहरु भएका थिए। प्रत्यक्षदर्शीहरुले त्यहाँ गोली चल्नुका साथै पेट्रोल बम र पानीका फोहराहरु प्रयोग गरिएको जनाए।

एकजना प्रदर्शनकारी इलिया सेकिरिनले भने, “स्थिति अत्यन्त तनावपूर्ण छ। मैदानमा बस्नु जोकोहीका लागि पनि खतरनाक बन्दै गएको छ। यद्यपि हामीले आफ्नो स्वास्थ्य र ज्यान समेत खतरामा पारेर सरकारलाई के देखाउन चाहन्छौं भने हामी स्वतन्त्र नागरिक हौं, दास होइनौं।”

प्रदर्शनकारीहरुले प्रहरीसंग भीडन्त गरी इन्डिपेन्डेन्स स्क्वायरमा फेरि नियन्त्रण कायम गरेका छन्। स्थानीय टेलिभिजनले सो स्क्वायर नजीकै मानिसहरुको शवका तस्वीरहरु देखाएको थियो।युक्रेनका प्रहरीले बीसजना भन्दा बढी प्रहरीहरु गोलीलागी घाइते भएको जनाएका छन्। प्रदर्शनकारीहरुले धावा बोल्नसक्ने खतराकाबीच सँसद तथा मन्त्रिपरिषद भवनहरुलाई खाली गरिएको छ।

सरकार र विपक्ष दुबैलाई मान्य हुने समाधान खोज्ने अन्तर्राष्ट्रिय प्रयास जारी रहँदा यो साता युक्रेनकालागि निकै हिंसात्मक हुन पुग्यो। बुधबार बिहान पनि सुरक्षादलहरु तथा प्रदर्शनकारीहरुबीच कियभमा भएको भीडन्तमा कम्तीमा छब्बीस जनाको ज्यान गएको थियो। अधिकारीहरुले बिहीबार युरोपेली सँघको प्रतिनिधित्व गर्ने विदेश मन्त्रीहरुले कियभमा राष्ट्रपति यानुकोविचसंग वार्ता गरेको जनाए।

राष्ट्रपति प्रासाद नजीकै हिंसात्मक घटनाहरु भएपछि फ्रान्स, जर्मनी तथा पोल्याण्डका मन्त्रीहरुसंग बैठकको समय सारिएको थियो। हाल कियभमा रहेका रुसी उपविदेश मन्त्री ग्रिगोरी कारासिनले युरोपेली सँघका प्रतिनिधिहरुले युक्रेन सरकारसंग माग राख्‍नु अनुचित हुने बताए।

उनले युरोपेली सँघले, उनकै शब्दमा, प्रजातान्त्रिक ढँगले निर्वाचित सरकार र अराजक भीडलाई समान महत्व दिएको आरोप पनि लगाए। यसअघि राष्ट्रपति ओबामाले सेना परिचालन नगर्न युक्रेनलाई चेतावनी दिएका थिए। उनले, उनकै शब्दमा, सैनिकहरुले सुल्झाउन सक्ने मामिलामा युक्रेनको सेनाले हस्तक्षेप गर्नेछैन भन्ने आफुले विश्वास लिएको पनि बताए।

स्थानीय सन्चार माध्यमहरुलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले गएको दुई दिन यता भएका हिंसामा पचास जना भन्दा बढीको ज्यान गएको जनाएको छ।

युक्रेन हप्तौं देखि संकटग्रस्त छ र रुस तथा पश्चिमा शक्तिहरुबीचको संघर्षको चपेटामा पनि परेको छ।राष्ट्रपति यानुकोभिचले रुससंग ऋणमा अर्बौं डलर स्वीकार गरेर युरोपसंगको पूर्वनिर्धारित ब्यापार सम्झौताबाट पछि हट्ने निर्णय गरेपछि यो पछिल्लो विरोध प्रदर्शनको आरम्भ भएको थियो।

पश्चिमा शक्ति राष्ट्रहरुले युक्रेनका राष्ट्रपतिलाई युरोप समर्थक विपक्षीहरुलाई दमन गर्ने प्रयास नगर्न राष्ट्रपतिलाई चेतावनी दिएका छन् भने रुसले पश्चिमा देशहरुले युक्रेनको मामिलामा हस्तक्षेप गरिरहेको आरोप लगाएको छ। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us