
काठमाण्डु, ८ फागुन – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा मच्छिन्द्र क्लवले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको नाटकीय खेलमा पुलिस ८७ औं मिनेटसम्मको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
निधारित समयको खेल सकिन ३ मिनेट बाँकी रहँदा अजय विकले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा गोल गर्दै सुशील के.सी.ले मच्छिन्द्रको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै मच्छिन्द्रले साविकको विजेता थ्रीस्टारसँग अंक बराबरी गरेको छ । दुबै टिमको समान २८ अंक छ । यस्तै एक खेल कम खेलेको लिग लिडर मनाङको भने २९ अंक रहेको छ । पुलिस २६ अंक सहित चौंथो स्थानमा झरेको छ ।