
काठमाण्डु, ७ फागुन – इण्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता (आईपीएल ७) का सबैभन्दा महङ्गा खेलाडी युवराज सिंहले यस सिजनको आईपीएल रोयल च्यालेञ्जर्स बैंग्लोर (आरसीबी) बाट नखेल्ने सम्भावना बढेको छ ।
उनलाई विजय मालियाको टिम आरसीबीले सबैभन्दा बढी बोली लगाउँदै एक सिजनका लागि १४ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।
यति महङ्गो रकम पाउँदा पाउँदै पनि युवराजले बैंग्लोरबाट नखेल्नसक्ने सम्भावना रहेको खबर एक भारतीय अनलाईनले लेखेको छ ।
विजय मालियाकै किंगफिशर एयरलाईन्सका कर्मचारीहरुले बैंग्लोरबाट नखेल्न आग्रह गर्दै पत्र लेखेपछि युवराजले त्यसलाई स्विकार गर्न सक्ने सो अनलाईनको दावी छ ।
मालिया आरसीबीसँगै किंगफिशर एयरलाईन्सका पनि प्रमुख हुन् । सो एयरलाईन्समा कार्यरत २५०० कर्मचारीहरुले १८ महिनादेखि तलब पाएका छैनन् । त्यसैले उनीहरुले नैतिकताका आधारमा पनि मालियाको टिमबाट नखेल्न आग्रह गर्दै युवराजलाई पत्र लेखेका हुन् ।
किंगफिशर एयरलाईन्स कर्मचारी संघको तर्फबाट लेखिएको खुल्ला पत्रमा भनिएको छ, ‘हामीलाई किंगफिशर एयरलाईन्सले १८ महिनादेखि एक पैसा पनि दिएको छैन ।
तपाईंलाई खरिद गरेको १४ करोड रुपैयाँले १५ हजार मानिसको पेट भर्न सक्छ । त्यसैले अब तपाईंले एउटा निर्णय लिनै पर्छ, मालियाको टिममा काम गर्ने कि मानवीयताका आधारमा उनका लागि काम गर्न अस्विकार गर्ने ?’
पत्रमा अघि लेखिएको छ, ‘अघिल्लो वर्ष विराट कोहली (आरसीबीका कप्तान)की आमालेसमेत आफ्नो छोराले यस सिजन आरसीबीबाट नखेल्ने बताएपनि फेरि विराट सोही टिममा अनुबन्धन भएका छन्, यसबाट प्रष्ट हुन्छ कि उनका लागि पैसा नै सबैभन्दा ठूलो चीज हो रहेछ ।’
साथै संघले आफूहरु सबै युवराजको एकदमै ठूलो फ्यान भएको भन्दै मालियाको प्रस्ताव अस्विकार गर्न आग्रह गरेको छ ।
यस्तो पत्रका कारण युवराज दोधारमा परेको बताईएको छ । उनले अब के निर्णय गर्छन् त्यो भने समयले नै बताउला ।