प्रतिपक्ष गठबन्धन संबिधानसभा अध्यक्षको उम्मेदवार उठाउने पक्षमा

काठमाण्डु टुडे २०७० फागुन ५ गते ३:२६ मा प्रकाशित

काठमाण्डु ५ फागुन–संबिधानसभाको अध्यक्षका बारेमा निर्णय लिन एकीकृत माओवादीसहित प्रतिपक्षमा रहेका राजनीतिक दल गृहकार्य गरिरहेका छन । सोमबार दिनभरीमा सहमति हुन नसके संबिधानसभा अध्यक्षको निर्वाचन मंगलबार हुनेछ ।
सोमबार दिनभर काँग्रेस एमालेका नेताहरुसँग पनि प्रतिपक्ष गठबन्धनले औपचारिक तथा अनौपचारिक छलफल गरी संबिधानसभाको अध्यक्षमा उम्मेदवारको बारेमा निर्णय लिने एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताए ।
पहिचानसहितको संघीयताका पक्षधर र परिवर्तनकारी शक्तिहरु प्रतिपक्षको गठबन्धनमा छन । उनीहरु संबिधानसभाका अध्यक्षका लागि एमालेले अगाडि सारेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्ने पक्षमा छैनन ।
स्रोतका अनुसार प्रतिपक्ष दलहरुले एकीकृत माओवादीका नेता कृष्णबहादुर महरालाई संबिधानसभाको अध्यक्ष पदमा उम्मेदवार बनाउने संभावना छ । काँग्रेस र एमाले वीच भएको सात बुँदे सहमतिमा काँग्रेसले एमालेले अगाडि सार्ने उम्मेदवारका पक्षमा मतदान गर्ने उल्लेख छ । अन्तरिम संबिधानमा संबिधानसभा अध्यक्ष र सभामुख एउटै रहने व्यवस्था छ ।
प्रधानमन्त्री निर्वाचनमा एक सय ४८ मत बिपक्षमा परेको थियो भने चार सय पाँच मत पक्षमा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us