सरकारमा सहभागी नहुने एमाओवादीको निर्णय

काठमाण्डु टुडे २०७० फागुन ४ गते १०:३८ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, ४ फागुन – एकीकृत नेकपा (माओवादी)ले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको पूर्व पदाधिकारीको बैठकले सरकार गठन भएपनि त्यसले पूर्णता नपाएको अवस्थामा पुनः काँग्रेस र एमालेलाई नै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशील कोइरालासँग अध्यक्ष दाहालले शनिबार गरेको भेटवार्तामा सरकारलाई सहयोग गर्न आग्रह गरेका थएि । सो भेटवार्तामा अध्यक्ष दाहालले सरकारलाई सङ्कट परे सहयोग गर्ने बचन दिएका थएि ।

प्रधानमन्त्रीको यो अग्रहपछि एमाओवादीले आइतबार पूर्व पदाधिकारीको बैठक बोलाएको हो । बैठकले एमाओवादीलाई प्रतिपक्षमा बस्न जनादेश दिएकाले सोहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको नेता पोष्टबहादुर बोगटीले जानकारी दिए । उनले तत्काल आफ्नो पार्टी सरकारमा जाने सम्भावना नरहेको बताए ।

यस्तै, बैठकले अघिल्लो संविधानसभाले गरेका निर्णयहरुको स्वामित्व ग्रहणसम्बन्धी विषयलाई तत्काल संविधानसभाको बैठकमा टेबल गर्न राजनीतिक दलहरुलाई आग्रहसमेत गरेको छ ।

अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व लिन नहुने आवाज उठिरहेको बेला एमाओवादीले तत्काल स्वामित्व ग्रहणसम्बन्धी प्रस्ताव पेस गर्न आग्रह गरेको हो ।

केही समयअघि प्रमुख राजनीतिक दलका नेताहरु संलग्न कार्यदलले स्वामित्व ग्रहणको प्रस्ताव तयार पारेपनि राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाको विरोधका कारण संविधानसभाको बैठकमा टेबुल हुन सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us