अझै फेला परेन विमान दुर्घटनास्थल

काठमाण्डु टुडे २०७० फागुन ४ गते ९:२४ मा प्रकाशित

nepal_airlines_2काठमाण्डु, ४ फागुन – नेपाल वायु सेवा निगमको ९ एन एबीबी ट्वीनअटर विमान दुर्घटना भएको स्थल अझै भेटिएको छैन ।

अर्घाखाँचीको खिदिम भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको भनिएपनि उक्त ठाउँमा विमान दुर्घटना भएको नपाइएको निगमले जनाएको छ । ‘सुरुमा उक्त ठाउँमा विमान दुर्घटना भएको भन्ने खबर आएपनि हामीले बुझ्दा त्यसो नभएको जानकारी आयो’ निगमका प्रवक्ता रामहरि शर्माले काठमाण्डु टुडेसँग भने, ‘आजका लागि गएको उद्दार टोली पनि फर्किएको छ । अब भोलि विहानैबाट उद्दारको काम सुरु हुन्छ ।’

उनले आइतबार रात परेकाले सोमबार विहानैबाट विमानको खोजी थालिने जानकारी दिए ।

पोखराबाट आइतबार मध्यान्ह चलाक दलका तीन जना र १५ यात्रु लिएर जुम्लाका लागि उडेको विमान दुर्घटना भएको हो । विमानमा रहेका सबै १८ जनाको अवस्था अझै अज्ञात छ । दुर्घटनामा पर्नेहरुमा क्याप्टेन शंकर श्रेष्ठ, कोपाइलट रवीन्द्र वञ्जारा र एयर होस्टेज मुना महर्जन रहेका छन् ।

यस्तै यात्रुहरुमा नन्दा महतारा र उनका श्रीमान् टेकबहादुर महतारा, जिल्ला हुलाक कार्यालय जुम्लामा निमित्त प्रमुख उमा तामाङ,  चन्दननाथ ९ मालाभिडका राजन चौंलागाई, बबरजंग शाही,वर्षा हमाल र उनका छोरा दिप हमाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा  बिकल्प पोखरेल रहेका छन् ।

यस्तै नेपाली सेनाको २४ नम्बर बाहिनीका मेजर दीपक श्रेष्ठ, कृषि विकास बैंक जुम्लाका म्यानेजर राजेन्द्र देवकोटा, रेडियो नारी आवाजका अध्यक्ष तथा पत्रकार महासंघका पूर्व सदस्य गौरी कठायत, नेपाली काँग्रेस जुम्लाका सभापति मानव सेजुवाल, कृष्णनाथ योगी,  चन्दननाथ गाविसका डीपी उपाध्याय र अर्का एक डेनिस पर्यटक रहेका छन् ।

आइतबार मध्यान्ह १२ बजेर ४० मिनेटमा पोखराबाट उडेको विमान १ बजेर ८ मिनेट भएपछि बेपत्ता भएको थियो । नेपाल वायु सेवा निगमले विमान दुर्घटना भएको पुष्टि गरेको छ ।

हेर्नुस दुर्घटनामा पर्नेको नाम ।

name list

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us