संविधानसभा अध्यक्षको निर्वाचन ६ गते

काठमाण्डु टुडे २०७० फागुन ४ गते ६:४८ मा प्रकाशित

काठमाण्डु, ४ फागुन– संविधानसभा अध्यक्ष चयनका लागि व्यवस्थापिका–संसदमा मंगलबार निर्वाचन हुने भएको छ ।
ca houseव्यवस्थापिका–संसदको आइतबारको बैठकले कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा सभाध्यक्ष र उपाध्यक्ष चयनका लागि मंगलबार साँझ ५ बजेका लागि निर्वाचन तोकेको हो ।

हाल जेष्ठ सदस्यका हैसियतमा राप्रपा अध्यक्ष सूर्यबहादुर थापा सभाध्यक्षको भूमिकामा छन् । सभाध्यक्षका लागि अन्तरिम संविधानको धारा ७१ को उपधारा १ बमोजिम राजनीतिक सहमतिकै आधारमा उम्मेदवारी दिनुपर्नेछ ।

दलहरुबीच सहमति नभए बहुमतीय प्रक्रिया आरम्भ हुनेछ । सभाध्यक्षका लागि उम्मेदवारी दर्ताको समय सोमबार बिहान १० देखि अपराह्न २ बजेसम्म तोकिएको छ । मंगलबार अपराह्न साढे २ बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ ।

काँग्रेस–एमालेबीच गृह मन्त्रालयको विषयलाई लिएर विवाद बढेसँगै सभाध्यक्ष चयनका लागि हुने निर्वाचनमा नयाँ समीकरण बन्ने सम्भावना छ । वर्तमान सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमतिमा सभाध्यक्ष एमालेले लिने उल्लेख छ ।

तर गृह विवाद चर्कंदै गएपछि सो सहमति कार्यान्वयन हुने सम्भावना कमजोर बनेको छ । काँग्रेसँगको सहमतिका आधारमा एमालेले नेता सुवास नेम्वाङलाई सभाध्यक्षमा अघि सारेको छ । नेम्वाङ अघिल्लो संविधानसभामा पनि सभाध्यक्ष थिए ।
तर एमाले सत्तासमीकरणबाट पछि हट्ने सकेत पाएपछि काँग्रेसले सरकारलाई समर्थन गर्ने सर्तमा सभाध्यक्ष लिन एकीकृत माओवादीलाई प्रस्ताव गरेको छ । संविधानसभाको तेश्रो ठूलो दल माओवादीले सभाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us