जारी भएकै दिन संविधान जलाउँछौं: गजुरेल

काठमाण्डु टुडे २०७० फागुन ४ गते ६:०२ मा प्रकाशित

४ फागुन, चितवन– नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान संविधानसभाबाट बन्ने संविधानले मुलुक र जनताले केही नपाउने बताएका छन् ।

cp gajurel
चितवनको भरतपुरमा आइतबार भएको पत्रकार भेटघाटमा उनले जनताको अपेक्षाविपरीत बन्ने एक थान आयातित संविधान आफूहरुलाई अस्वीकार्य रहेको बताए । विदेशीले दिने ‘रेडिमेड’ संविधान जारी भएकै दिन जलाइदिने चेतावनी उनले दिए ।

‘प्रतिक्रान्तिकारी र प्रतिक्रियावादीहरु हावी भएको संविधानसभाले जनताको पक्षमा संविधान दिन सक्दैन’, गजुरेलले भने, ‘संविधान जारी भएकै दिन जलाउँछौं ।’ उनले चाडबाडको दिन पारेर संविधान जारी गर्ने तयारी भइरहेको बताए ।

उनले आफ्नो पार्टी जनसंविधान, राष्ट्रिय स्वाधिनता र जनजीविकाको एजेण्डा लिएर आन्दोलनमा जाने तयारीमा रहेको गजुरेलले बताए । उनले आफूहरु तत्काल हिंसात्मक आन्दोलनको पक्षमा भने नरहेको प्रष्ट्याए ।

‘हामी शान्तिपूर्ण र निर्णायक आन्दोलन गर्छौं’, गजुरेलले भने, ‘क्रान्तिकारीहरुले अन्तिम विकल्पका रुपमा बाध्य भएर हिंसात्मक आन्दोलनमा जाने हो ।’
अर्को एक फरक प्रसंगमा गजुरेलले भारतीय पक्षले एकपछि अर्को गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको भन्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us