
केही दिनपूर्व मात्र गठन भएको जननिर्वाचित सरकारसँगै मैले आफूले अध्यक्षता गरेको तत्कालिन मन्त्रिपरिषद्को भूमिकाबाट अलग भई सर्वोच्च अदालतमा पदाधिकार रहेको प्रधान न्यायाधीश पदबाट समेत राजीनामा दिई अहिले निवृत्त जीवनमा प्रवेश गर्दा विगतको अवस्थालाई एकपटक सिँहावलोकन गरेको छु । वास्तवमा भन्नुपर्दा – नेपालमा शान्ति, स्थायित्व, समृद्धि र विकासका लागि हालसम्म जति पनि संघर्ष र प्रयत्नहरु भए, ती सबैको मूल्य र महत्व सामान्य रुपमा मात्र गणना हुनसक्दैन भन्ने मलाई लाग्दछ ।
संघर्षशील र परिश्रमी नेपालीहरुले आफ्नो राष्ट्रको समुन्नतिका लागि जति प्रयत्नहरु गरेका छन्, त्यसको तुलनामा स्थायित्व, शान्ति र समृद्धिको चाहनाले आजपर्यन्त मूर्त रुप लिन नसकेको यथार्थ हामी सबैलाई जानकारी नै छ । कुनैपनि देशको परिवर्तन र रुपान्तरणका लागि इतिहासका केही घडीमा यस्ता संघर्ष, द्वन्द्व र आन्दोलनहरु भएको विश्वभरि नै पाइन्छ, तर, केही निश्चित अवस्थापश्चात् ती देशहरुमा राजनीतिक स्थायित्व कायम भई देशले विकास र समृद्धिको दिशा तय गरेका हुन्छन् । हाम्रो नेपाली सन्दर्भमा – विगत करिब सात दशकभन्दा लामो समयदेखि हामी, लोकतन्त्र, नागरिक अधिकार, संविधान निर्माण र व्यवस्था सञ्चालनका लागि नै प्रयत्नरत छौँ, तर, आजसम्म पनि नेपाली जनताका यी सबै सपनाहरु अधुरो नै रहेका छन् । आज विश्वले विकासमा यति तीव्र गति लिइरहँदा र विश्वका अन्य राष्ट्रका मानिसहरुले नवीन विषयहरुमा आफ्ना प्रयास र परिश्रम केन्द्रित गरिरहँदा हामी देशमा राजनीतिक स्थायित्व र संविधान निर्माणका लागि नै प्रयत्नरत हुनुपरेको अवस्थालाई अत्यत्न संवेदनशील रुपमा ग्रहण गर्नुपर्दछ । तसर्थ, अब देशमा स्थायित्व कायम गर्न किमार्थ ढिलाई गर्नुहुँदैन ।
विगतमा प्राप्त संविधान निर्माणको अवसरबाट एकपटक असफल भएको अवस्था र त्यस्तो जटिल अवस्थाबाट उत्पन्न विशेष परिस्थितिमा पनि जनताले पुनः मतदान गरी संविधान निर्माण गर्न व्यक्त गरेको उत्कट चाहनालाई अब अवमूल्यन गरिनुहुँदैन । किनभने, इतिहासले सँधै एकैप्रकारको विषयमा सँधै अवसर दिइरहँदैन, तसर्थ, एकपटक पुनः प्राप्त भएको संविधान निर्माणको यस अवसरलाई व्यावहारिक रुप दिन नवगठित संविधानसभाका माननीय सदस्यहरुका सामु राष्ट्रको विशाल जिम्मेवारी रहेको छ । तसर्थ, संविधान निर्माणलाई नै प्रमुख उद्देश्य बनाउँदै आफ्ना समग्र कार्यहरु निर्देशित गर्नुहुन संविधानसभाका माननीय सदस्यज्यूहरुलाई आजको यस अवसरमा विशेष आग्रह गर्दछु ।
आजको यसै कार्यक्रमका अवसरमा संविधान निर्माणको विषयमा मेरो व्यक्तिगत सुझाव पनि छ । “एक वर्षमा संविधानः राष्ट्रिय अभियान” भन्ने कुरालाई सबैले प्रतिबद्धता सहित राष्ट्रिय नारा बनाई एकै स्वरमा यही मान्यतालाई अनुशरण गर्दै सबै क्षेत्र र वर्गले आ–आफ्ना कार्यहरु लक्षित गरिएमा नेपाली आवश्यकताको संविधान निर्माणले सार्थकता प्राप्त गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । सबै नेपालीले यस तर्फ ध्यान केन्द्रित गर्नु पर्दछ भन्ने मलाई लाग्दछ, किनभने, संविधानसभामा विगतमा पनि थुप्रै कार्यहरु भएकाले केही निश्चित विषयहरुका सम्बन्धमा समस्त राजनीतिक दलहरुको सहमति र एकता कायम भएमा यो कार्य अत्यन्त स्वाभाविक रुपमा अघि बढ्ने छ ।
देशको बृहत्तर हितलाई केन्द्रित गर्दै अघि बढ्न सके सहमति हुनसक्ने प्रशस्त आधार रहन्छन् । हामी प्रत्येक नेपालीले कम्तिमा पनि आफ्नै सन्ततिको भविष्य सोच्दै कार्य गर्नसकेमा हामीलाई आफ्नो कर्तव्य पूरा गर्न सफलता प्राप्त हुनेछ । संविधान निर्माणसँगै देशमा आर्थिक, सामाजिक, साँस्कृतिक विकासका सम्भावनाहरु एकसाथ उत्पन्न हुने भएकाले अबको एक वर्षभित्रमा संविधान निर्माण जारी गर्नेमा संविधानसभाका माननीय सदस्यहरुको ध्यान केन्द्रित रहोस् भन्ने हार्दिक अपिल गर्दछु । साथै, यस उद्देश्यमा यहाँहरुलाई पूर्ण सफलता प्राप्त होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।
निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम एवं पश्चिमाञ्चलका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने संविधानसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश