हिमपातका कारण जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० फागुन ३ गते ३:०० मा प्रकाशित

humla-snowकाठमाडु, ३ फागुन – गएरातिदेखिको हिमपातका कारण मध्यपश्चिमका पहाडी जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।

हिमपातसँगै बढेको अत्याधिक चिसोका कारण मुगु, हुम्ला, जुम्ला र डोल्पालगायत जिल्लाको जनजीवत कष्टकर बनेको हो । मुगुमा हिमपातका कारण जिल्लाको एक मात्र ताल्चा विमास्थल अवरुद्ध भएको छ भने गमगढी–नाग्मा सडक खण्ड पनि अवरुद्ध छ ।

यता जाजरकोटमा खगेनकोट, रग्दा, भगवती, पैक, ढिमे, नायकवाडा, रामीडाँडा, रोकायगाउँ र सक्ला गाविसका स्थानीय बासिन्दा बढी प्रभावित भएका छन् ।

गएरातिदेखि अबिरल वर्षासँगै हिमपात हुँदा चिसोको कारण घरदेखि बाहिर निस्किन नसकेको नायकवाडाका शिक्षक घमण्डबहादुर शाहले बताए । हिमपात हुँदा जिल्लाका ग्रामीण भेगमा रहेका स्काई टेलिफोनका टावरहरूले काम नगर्दा टेलिफोन सेवासमेत प्रभावित भएको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

उता, इलामको उत्तरी क्षेत्रमा हिमपात भएको छ । शुक्रबार दिउँसोदेखिनै हल्का वर्षा भएपछि सन्दकपुर, मेघमा, तुम्लिङ, जौवारी क्षेत्रमा हिमपात भएको हो । जिल्लाको उत्तरी क्षेत्रमा हिमपातपछि चिसो सुरू भएको छ ।

वर्षासँगै इलाम, पाँचथर र ताप्लेजुङका उच्च भेगहरूमा समेत हिमपात भएको छ । यसपटक जिल्लामै पहिलोपटक हिमपात भएको जमुनाका मनोज भट्टराईले बताए । वर्षापछि आलु, गहुँ, मकै खेती गर्ने किसान हर्षित भएका छन् ।

चिसोका कारण हिमाली क्षेत्रका किसानले चौंरी तथा भेडी गोठसमेत बेसीतर्फ झारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us