
काठमाण्डु, २ फागुन – प्रधानमन्त्री सुशील कोइरालाले त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थानमा देखिएको समस्या समाधानका लागि अग्रसरता देखाएका छन् । समस्या समाधानको प्रयासमा कोइरालाले शुक्रबार त्रिवि पदाधिकारीसँग छलफल गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा कोइरालाले समस्याको कारण र समाधानको उपायबारे सुझाव लिएका थिए ।
‘प्रधानमन्त्रीले समस्याको कारण र समाधानको उपायबारे सुझाव माग्नुभयो’, त्रिविका रष्ट्रिार चन्द्रमणि पौडेलले काठमाण्डु टुडेसँग भने, ‘हामीले समस्या समाधानका लागि गोविन्द केसीले अनशन तोड्नुबाहेक अरु विकल्प नरहेको बतायौं ।’
शिक्षण अस्पतालका प्राध्यापक डा. केसी वरिष्ठताका आधारमा नयाँ डिन नियुक्त भएपछि पनि त्रिवि पदाधिकारीलाई बर्खास्त नगरिएसम्म अनशन नतोड्ने अडानमा छन् ।
त्रिवि पदाधिकारीले भने केसीले कसैको राजनीतिक उक्साहटमा लागेर अनशन नतोडेको प्रधानमन्त्रीलाई बताएका थिए । ‘भ्रष्टाचार गरेको पुष्टि गरुन्, हामी एक मिनेट पनि पदमा बस्दैनौं’, पौडेलले भने ‘तर कसैको गलत उक्साहटमा लागेर कोही अनशन बस्दैमा राजीनामा दिने संस्कार बसालियो भने हामी ठीक ठाउँमा पुग्दैनौ ।’
डिन नियुक्तियलागतका काम काुननी प्रक्रियाअनुसारै भएकाले कुनै पनि कर्मचारीले आफूले भनेजस्तो नभए मान्दिन भन्न नमिल्ने तर्क गरे । ‘सबै कुरा प्रक्रियाअनुसारै भएका छन्, डा. केसी को हुन् र उनले जे भन्यो त्यही सबैले मान्नुपर्ने ?’ पौडेलले भने ।
साथै पदाधिकारीहरुले आफ्नोतर्फबाट गर्नुपर्ने सबैकाम गरेकाले अब समस्या समाधान गर्न कोइरालालाई आग्रह गरेका छन् । त्रिवि कार्यकारी परिषद्ले वरिष्ठ प्राध्यापक डा. राकेशप्रसाद श्रीवास्तवलाई बिहीबार चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको थियो ।