
काठमाण्डु, २९ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा मच्छिन्द्र क्लब विजयी भएको छ । रंगशालामा भएको खेलमा १० खेलाडीमा सिमिति मच्छिन्द्रले लिग उपाधिको होडमा रहेको थ्रीस्टार क्लबलाई २–१ ले हराएको छ ।
मच्छिन्द्रलाई जिताउने दोश्रो हाफको इन्जुरी समयमा कर्ण लिम्बुले निर्णायक गोल गरे । यसअघि थ्री स्टारको लागि खेलको ११ औं मिनेटमा प्रकास बुढाथोकीले गोल गरेका थिए भने खेलको ७९ औं मिनेटमा मच्छिन्द्रका क्रिस्टोफर निकोले बराबरी गोल फर्काएका थिए ।
जाजाले रातो कार्ड पाएपछि मच्छिन्द्र ६५ मिनेटपछि १० खेलाडीमा सिमित भएको थियो । यो नतिजापछि मच्छिन्द्र क्लब २२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । तेश्रो स्थानमा रहेको थ्रीस्टारको भने २४ अंक छ । एक खेल कम खेलेको मनाङ २६ अंकसहित शीर्ष स्थानमा कायम छ ।