छुट्टा–छुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७० माघ २८ गते ३:१२ मा प्रकाशित

सिरहा, २८ माघ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको पुरानो चोहर्वामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य दुईजना भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चन्द्रलालपुर–२ का ५५ वर्षीय मोहम्मद नरुल मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए । उनका सोमबार साँझ स ३ प ८२०५ नम्बरको मोटरसाइकलले पैदलयात्री मियाँलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलका चालक सिरहा नगरपालिका–४ का अजित शर्मा र पछाडि बसेका गाईघाट–८ उदयपुरका २० वर्षीय प्रविण राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शर्माको गोलबजारमा र राईको लहानमा उपचार भइरहेको छ ।

यता, पोखराबाट राजविराजतर्फ गइरहेको ना ४ ख ५४९१ नं.को रात्रिबसले गएराति एकजनालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।

हेटौँडा–नारायणघाट सडकखण्डको सिमपानीमा गएराति बाटो काट्ने क्रममा बसको ठक्करबाट मनहरि–४, का ६५ वर्षीय मनमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक लमजुङ स्थायी घर भएका ३६ वर्षीय रामकृष्ण पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us