सुशीलकी दिदीले भनिन्, ‘आशीर्वाद लाग्यो’

काठमाण्डु टुडे २०७० माघ २८ गते २:०३ मा प्रकाशित

Sushil-Koirala२८ माघ, काठमाण्डु – नेपालगन्ज–१३ आदर्शनगरमा बस्दै आएकी ८० वर्षीया आभादेवी शर्मा भाइ सुशील कोइराला मुलुकको ३७औं प्रधानमन्त्री निर्वाचित हुँदा जति खुसी देखिन्थिन्, त्योभन्दा बढी खुसी देखिन्थिन् आफ्नो आशीर्वाद लागेकोमा ।

७५ वर्षीय भाइ सुशील प्रधानमन्त्रीमा निर्वाचित भएको थाहा पाउनेबित्तिकै उनले सञ्चारकर्मीसँग खुलेरै भनिन्, ‘मैले हरेक दसैं र तिहारमा टीका लगाउँदा प्रधानमन्त्री बनोस् भन्ने आशीर्वाद दिन्थें, त्यो आशीर्वाद आज पूरा भएको छ, म ज्यादै खुसी छु । अब समयमै संविधान बनाउन सफल होस् भनेर म आशीर्वाद दिन चाहन्छु । मेरो त्यो आशीर्वाद पनि पूरा हुनेछ ।’

कान कम सुन्ने तर प्रस्टसँग देख्न सक्ने अवस्थाकी ८० वर्षीया आभादेवीको हातबाट टीका लगाउन कोइराला हरेक दसैं–तिहारमा उनको घर जाने गर्छन् । आफूले प्रधानमन्त्री बनोस् भन्ने आशीर्वाद दिए पनि भाइ सुशीलले भने प्रधानमन्त्रीभन्दा पनि असल व्यक्ति बनोस् भन्ने आशीर्वादको चाहना राख्ने गरेको उनले सुनाइन् । उनले भाइ प्रधानमन्त्री भएपछि गरिब, दुःखीको हितमा काम गरोस्, देश र जनतालाई राम्रो गरोस् भन्ने चाहना र इच्छा राखेको बताइन् ।

‘सबैभन्दा मुख्य काम समयमै संविधान निर्माण गर्नु हो, सुशीलले संविधान निर्माणमा ध्यान दिनुपर्छ,’ उनले भनिन् । आभादेवी सुशीलकी माइली दिदी हुन् । जेठी दिदी दुतीदेवीको मृत्यु भइसकेको छ । एक मात्र बहिनी शशी शर्मा कपिलवस्तुमा बस्छिन् ।

सुशीलका ६ दाजुभाइमध्ये जेठा प्रमोद र माइला विनोदको मृत्यु भइसकेको छ । उनका भाइहरू डा. अरुण र अशोक कांग्रेस राजनीतिमै सक्रिय छन् । भाइ अरुण कांग्रेस बाँके सभापति हुन् भने विराटनगरमा कांग्रेस राजनीतिमा सक्रिय अशोक समानुपातिक सभासद् हुन् । उनका कान्छा भाइ विजय भने ठेक्कापट्टा कार्यमा सक्रिय रहेका छन् ।

– राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us