
काठमाण्डु, २७ माघ– साविक विजेता बार्सिलोना स्पेनिश ला लिगा फुटवलमा पुन: शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
स्टाइकर लियोनल मेस्सीको २ गोलको मद्धतले आइतबार राति सेभिल्लालाई ४–१ गोल अन्तरले हराउँदै बार्साले शीर्ष स्थानमा कब्जा जमाएको हो ।
रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडसँग समान अङ्क रहे पनि गोल अन्तरका आधारमा बार्सा शीर्ष स्थानमा रहन सफल भएको हो । तीनै टोलीको समान २३ खेलबाट ५७ अङ्क छ ।
गोल अङ्कका आधारमा रियल म्याड्रिड दोस्रो स्थानमा छ भने एथ्लेटिकको म्याड्रिड लिगको तेस्रो स्थानमा छ । आइतबार रातिको खेलमा अग्रता भने सेभिल्लाले लिएको थियो ।
खेलको १५ औं मिनेटमा अल्र्बटो मोरेनोको गोलबाट पछि परेको बार्साले ३४ औं मिनेटमा बराबरी गोल फर्कायो । एलेक्सिस सन्जेजले लियोनल मेस्सीको पासमा हेडमार्फत बराबरी गोल गरेका थिए । पेड्रोको पासमा मेस्सीले डि बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा बार्साले २–१ ले अग्रता लियो ।
उच्च खेल पस्किएका मेस्सीले दोस्रो हाफमा आन्द्र इनियस्टाको पासमा अर्को गोल थप्यो । एलेक्सिसको पासमा ८८ मिनेटमा फेव्रगासले अर्को गोल थपेपछि खेलमा बार्सा ४–१ ले विजयी भयो ।