आज प्रधानमन्त्री निर्वाचन, सुशील पक्का

काठमाण्डु टुडे २०७० माघ २७ गते १:०८ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, २७ माघ– बहुमतीय प्रणालीबाट नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा आज मतदान हुँदैछ ।

सचिवालयले यसअघि नै तय गरेको कार्यतालिका अनुसार बिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने संसद बैठकमा प्रधानमन्त्री निर्वाचन हुने छ । प्रधानमन्त्री पदमा काँग्रेस सभापति सुशील कोइरालाको मात्र दरखास्त परेकाले कोइराला प्रधानमन्त्री बन्ने पक्कापक्की भइसकेको छ । संसद्मा कांग्रेसका १ सय ९४ र एमालेका १ सय ७३ साभासद छन् ।

संविधानसको धारा ३८ (२) अनुसार प्रधानमन्त्री चुनिन व्यवस्थापिका–संसद्को तत्काल कायम ५ सय ७१ को सामान्य बहुमत भए पुग्छ । काँग्रेस र एमालेबीच आइतबार सत्ता साझेदारीबारे ७ बुँदे सहमति भएपछि कोइरालाको जित सहज भएको हो ।

संसद्को कार्यसञ्चालन नियमावलीमा एक जनाको मात्र उम्मेदवारी परेको अवस्थामा पनि पक्ष वा विपक्षमा मतदान गर्नुपर्ने व्यवस्था भएकाले निर्वाचन हुन लागेको हो ।

पक्ष र विपक्षमा मतदान गर्न सभासदले छुट्टाछुट्टै लबीमा प्रवेश गरी वर्णानुक्रम अनुसार आफ्नो नामको पछि हस्ताक्षर गर्नेछन् । तर प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित हुन र मत दिन्न भन्न पाइने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us