काँग्रेस विभाजन हुन सक्ने एसडी मुनिको संकेत

काठमाण्डु टुडे २०७० माघ २६ गते ७:४० मा प्रकाशित

SD Muniकाठमाण्डु २६ माघ–नेपाल मामिलाका जानकार भारतीय बुद्धिजीवी एस डी मुनीले नेपाली काँग्रेसमा बिभाजन आउन सक्ने संकेत दिएका छन् । सोमबार वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी फुटाउनबाट जोगाउनु सभापति सुशील कोइरालाका लागि चुनौती रहेको उनले बताएका छन् ।
प्रधानमन्त्रीका लागि प्रस्तावित सभापति कोइरालाको अवस्थाका बारेमा मुनिले ट्वीटरमा लेखेका छन् ‘सोमबार सुशीलका लागि चिन्ताजनक छ ।

उनले प्रधानमन्त्री पद पाउनुपर्नेछ,राष्ट्रपति यादवलाई संरक्षण गर्नु पर्नेछ, आफनो पार्टी सभापति बचाउनुपर्नेछ र देउवालाई पार्टी फुटाउनबाट निरुत्साहित पार्नु पर्नेछ।’
राष्ट्रपति डा‍ रामवरण यादवले बहुमतीय प्रणालीबाट प्रधानमन्त्री छनौट गर्न दिएको समयसीमा सोमबार सकिदैछ । काँग्रेस सभापति सुशील कोइराला र एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीका दावेदारका रुपमा प्रस्तुत भएका छन् ।

संसदीय दलको निर्वाचनमा देउवा सभापति कोइरालाबाट १६ मतले पराजित भएका थिए । संसदीय दलमा ४० प्रतिशत हिस्सा खोज्दै आएका देउवाले संसदीय दलको निर्वाचनमा ४६ प्रतिशत मत ल्याएका थिए ।

एमालेले राष्ट्रपतिको निर्वाचन अहिले नै गर्नुपर्ने माग गर्दै आएको छ भने काँग्रेसले संविधान जारी भएपछि राष्ट्रपति निर्वाचन गरिनुपर्ने अडान राख्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us