काँग्रेस–एमाले मिलेर सरकार बनाऊ: प्रचण्ड

काठमाण्डु टुडे २०७० माघ २६ गते ५:५५ मा प्रकाशित

prachanda 2चितवन, २६ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलेर सरकार बनाउन काँग्रेस र एमालेलाई आग्रह गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघ चितवनले भरतपुर विमानस्थमा आइतबार गरेको पत्रकार भेटघाटमा उनले आफूहरुको मुख्य ध्यान सरकार नभइ संविधान भएको बताएका हुन् ।

प्रचण्डले आफ्नो दल सरकारबाहिरै बसेर संविधान निर्माणमा रचनात्मक भूमिका खेल्ने स्पष्ट गरे । ‘सरकारबारे काँग्रेस र एमालेबीच सहमति होस् भन्ने हाम्रो चाहना हो’, प्रचण्डले भने, ‘हामीप्रतिपक्षमा बसेर संविधान निर्माणमा सहयोग गर्न तयार छौं ।’

सरकार गठनमा सघाउन काँग्रेस र एमालेले आग्रह गरेको भए पनि समर्थनका लागि कसैलाई बचन नदिएको उनको भनाइ थियो । यद्यपि सरकार गठनबारे काँग्रेस–एमाले बीच आज दिनभर सहमति नभए भोलि संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बसेर थप निर्णय लिने जानकारी उनले दिए ।

प्रचण्डले संविधानसभा अध्यक्षमा भने आफ्नो दलको दाबी रहेको उनले बताए । अर्को एक फरक प्रसंगमा उनले निर्वाचनबाट ताजा जनादेश आएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु रहेको प्रष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us