ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्छौं: रायमाझी

काठमाण्डु टुडे २०७० माघ २५ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २५ माघ– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले प्रधानमन्त्रीमा एमाले नेता केपी ओलीलाई सघाउने बताएका छन् ।
top bahadurरिपोर्टर्स क्लबले शनिबार राजधानीमा गरेको कार्यक्रममा रायमाझीले ठूलो दलको हैसियतमा सहमति जुटाउन काँग्रेस असफल भए दोश्रो ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले सरकारको नेतृत्व पाउनुपर्ने बताएका हुन् ।

ओली नेतृत्वको सरकारलाई बाहिरै बसेर समर्थन गर्ने भनाइ उनको थियो । ‘काँग्रेसले राष्ट्रपति परिवर्तन गर्न नहुने अडान नछाडेको अवस्थामा हामी केपी ओलीलाई समर्थन गर्छौं’, रायमाझीले भने, ‘दोस्रो ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीजी प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’

रायमाझीले ओलीले संसदमा राष्ट्रपति निर्वाचन सम्बन्धमा राखेको अडानप्रति समर्थन जनाउँदै एमालेले अडान नछाडे राष्ट्रपति र उपराट्रपति निर्वाचन हुने ठोकुवा गरे । नयाँ जनादेशका आधारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुनुपर्ने पार्टी धारणा रहेको भन्दै उनले एमाले र एमाओवादीबीचमा सहकार्य हुन सक्ने बताए ।
राष्ट्रपति चुनावका लागि तयार छौ: उपाध्याय
कार्यक्रममा  काँग्रेस केन्द्रीय सदस्य एवम् वार्ता टोलीका सदस्य दिपकुमार उपाध्यायले आफूहरु अन्तकालसम्म राष्ट्रपति र उपराष्ट्रपति कायम राख्नुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

मुलुकलाई निकास दिन विभिन्न विकल्पबारे छलफल भइरहेको भन्दै उनले उपयुक्त समयमा राष्ट्रपति निर्वाचन हुने गरी एमालेसाग भद्र सहमति गर्ने बताए । ‘हामीसाग बहुमत छैन । पावर सेयरिङ गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझेका छौं’, उपाध्यायले भने, ‘त्यसैले हामी राष्ट्रपति, उपराष्ट्रपति र संविधानसभा अध्यक्षसहित सबै कुरामा प्याकेजमै सहमति गर्छौं ।’

उनले अन्तिम समयमा एमालेले काँग्रेस सभापति सुशील कोइरालालाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति अनुमोदित हुनुपर्छ: रावल
एमाले नेता भीम रावलले अहिलेकै राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गराएर एक वर्षको पदावधि निश्चित गरे नेपाली काँग्रेससँग सहमति हुन सक्ने उल्लेख गरे ।
उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रालयहरु, सभामुख र उपसभामुखलाई प्याकेजमै राखेर सहमति हुनु पर्नेमा जोड दिए । ठूलो दलको हैसियतमा काँग्रेसले आफ्नो अडानबारे पुनर्विचार गर्नुपर्ने रावलको भनाइ छ ।

रावलले काँग्रेसले अडान नछाडे आगामी माघ २७ गते सुशील कोइराला प्रधानमन्त्री नबन्ने ठोकुवा गरे ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us