विद्युत नहुँदा एक्स–रे मेसिन चलेन

काठमाण्डु टुडे २०७० माघ २५ गते १:५९ मा प्रकाशित

x-rayगोरखा, २५ माघ – नेपाल विद्युत प्राधिकरण गोरखाले आवश्यक विद्युत नदिँदा जिल्ला अस्पतालमा भएको एक्स–रे मेसिन चल्न सकेको छैन । मेसिन नचल्दा बिरामीहरु एक्स–रेका लागि काठमाण्डु र  भरतपुर जान बाध्य हुने गरेका छन् ।

आवश्यक विद्युत नहुँदा अस्पतालमा रहेको एक्स–रे मेसिन एक वर्षदेखि नचलेको हो । अनुदानमा प्राप्त ५०० एम ए क्षमताको मेसिन प्रयोग नहुँदा मिर्गौला, ढाडजस्ता संवेदनशील अङ्गको एक्स–रे गर्नुपर्ने बिरामीलाई उपचारका लागि जिल्लाबाहिर जानु परेको छ ।

५०० एमए क्षमताको एक्स–रे मेसिन चलाउन ५० एम्पिएर क्षमताको विद्युत चाहिने तर अहिले अस्पतालमा आएको विद्युत पावरले नभेट्ने भएपछि एक्स–रे मेसिन सञ्चालन गर्न नसकिएको रेडियोग्राफर जय सिलवालले बताए ।

अहिले कम क्षमताको एक्स–रे मेसिन प्रयोगमा ल्याइएको र उक्त मेसिनबाट हातखुट्टा र छातीको मात्र एक्स–रे हुने सिलवालले बताए । अस्पतालमा ४० किलोवाट क्षमताको विद्युत् चाहिने भए पनि हाल २० किलोवाटको विद्युत लाइन मात्र लगिएको छ ।

गोरखा अस्पतालमा ४० किलोवाट विद्युत क्षमताको आवश्यकता पर्ने भए पनि २० किलोवाट क्षमताभन्दा बढी विद्युत दिन नसक्ने विद्युत प्राधिकरणका प्रमुख ज्ञानेन्द्र आचार्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us