बाँकेका बालश्रमिक विद्यालय जान थाले

काठमाण्डु टुडे २०७० माघ २४ गते ५:०७ मा प्रकाशित

नेपालगन्ज, २४ माघ – युनिसेफ नेपाल र नेपालगन्ज नगरपालिकाको सहयोगमा बाँके जिल्लाका १३८ बालश्रमिकलाई बाँके युनेस्को क्लबले विद्यालय जाने व्यवस्था मिलाएको छ ।

क्लबद्धारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत जिल्लाका होटल, कलकारखाना तथा घरमा कार्यरत ती बालश्रमिकलाई बालश्रमबाट विस्थापित गरी छात्रवृत्तिसहित विद्यालयमा भर्ना गराइएको हो ।

जिल्लाका सात विद्यालय र चार मदरसामा अध्ययनरत ती बालश्रमिकलाई क्लबले छात्रवृत्ति अन्तर्गत विद्यालय पोशाक, पाठ्यपुस्तक तथा विभिन्न शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ ।

त्यसैगरी, बालश्रमिकको अध्ययनलाई आर्थिक समस्या टार्न क्लबले तिनका अभिभावकले छनोट गरेका फलफूल, पान तथा किराना पसल सञ्चालनका लागि रु १० देखि १५ हजार बराबरको व्यवसाय सामग्री समेत उपलब्ध गराएको छ ।

जिल्ला बाल कल्याण समितिको तथ्याङ्क अनुसार, बाँके जिल्लामा अझै पनि करिब तीन हजार बालश्रमिक रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us