हात्तीको आक्रमणमा मारिएका व्यक्तिको शव १५ घण्टादेखि उठेन

काठमाण्डु टुडे २०७० माघ २३ गते १०:३२ मा प्रकाशित

चितवन, २३ माघ– दक्षिण चितवनको माडीस्थित गर्दीको वडा नम्बर १ अमिलियामा हात्तीको आक्रमणमा परी मृत्यु भएका एक व्यक्तिको १३ घण्टादेखि शव उठ्न सकेको छैन ।

बुधबारराति १० बजे आफ्नै घरमा सुतिरहेका स्थानीय ४५ वर्षीय शेरबहादुर दर्जीको हात्तीको आक्रमणमा ज्यान गएको हो । पीडित परिवार र स्थानीयवासीले हात्ती नियन्त्रण गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेर शव उठाउन नदिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

निकुञ्ज ऐनमा हात्तीले मारेमा मृतक परिवारलाई तीन लाख क्षतिपूर्ति दिने व्यवस्था छ । उनीहरुले क्षतिपूर्तिसँगै हात्ती नियन्त्रण हुनुपर्ने सर्त राखेकाले मुचुल्का उठाए पनि शव उठाउन नदिएको प्रहरीले जनाएको छ । यस विषयमा अहिले निकुञ्ज प्रशासनसँग वार्ता भइरहेको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जङ्गली हात्तीले  १० बजेको समयमा घरभित्र पसेर सुतिरहेका दर्जीलाई आक्रमण गरी ज्यान लिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक कृष्ण खरेलले जानकारी दिए ।

हात्तीले सुतेका बेला उठाएर जमिनमा पछारेका कारण ज्यान गएको हो । यस क्रममा उनको र छिमेकी एक जनाको घरमा हात्तीले क्षति पु¥याएको छ । उनको शव अहिले घटनास्थलमै छ ।

अघिल्लो वर्ष पनि सोही क्षेत्रमा ध्रुवे नामको हात्तीले आक्रमण गर्दा एक दम्पतीकै ज्यान गएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us