एमाले संसदीय दलकाे नेता खनाल कि ओली ?

काठमाण्डु टुडे २०७० माघ २१ गते २:३६ मा प्रकाशित

balkhuकाठमाण्डु, २१ माघ – नेकपा एमालेले मंगलबार पार्टी संसदीय दलको नेता चयन गर्दैछ । सकेसम्म सहमतिबाट र नभए मतदान प्रक्रियाबाट दलको नेता चयन गर्ने एमालेले जनाएको छ ।

बिहान ११ बजे केन्द्रीय समिति बैठक बसेर सहमतिका लागि अन्तिम प्रयास गर्ने एमालेका एक नेताले जानकारी दिए । सहमति जुट्न नसके दिउँसो २ बजेपछि संसदीय दलमा मतदान हुनेछ ।

यसअघि सोमबार बसेको केन्द्रीय समिति बैठक विनानिष्कर्ष टुंगिएको थियो ।पार्टी मुख्याल बल्खुमा बसेको बैठकमा संसदीय दलको नेताका लागि अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीको नाममा प्रस्ताव पेश भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष खनाल र उपाध्यक्ष बामदेव गौतमले नेता ओलीको नाम प्रस्ताव गरेका हुन् ।

दुबै नेता आफ्नो अडानबाट टसको मस नभएकाले सहमतिको सम्भावना नदेखिएको स्रोतले जनाएको छ । केन्द्रीय समिति बैठक पछि साँझ नेताहरुले छुट्टा–छुट्टै गुटको भेला गरेका थिए ।

वरिष्ठ नेता नेपालको समेत समर्थन पाएका अध्यक्ष खनालको सम्भावना बढि देखिएपनि करिव १ दर्जन सभासद लिएर उपाध्यक्ष गौतम ओली क्याम्पमा सरेपछि खनाललाई केही धक्का लागेको छ । यद्यपी गौतम पक्ष बाहेक पनि खनालसँग बहुमत रहेकाे स्रोतले जनाएको छ ।

संसदीय दलको नेतामा देखिएको किचलोसँगै एमालेमा नयाँ समीकरण देखा परेको हो । सर्वसम्मतिका आधारमा संसदीय दलको नेता चयनका लागि प्रयास भइरहेका बेला पार्टी एकता कमजोर पार्ने प्रयास स्वरुप नयाँ गठबन्धन जन्मिएको निष्कर्ष संस्थापन र नेपाल पक्षको छ ।

आसन्न नवौं महाधिवेशनमा अध्यक्षमा सघाउने सर्तमा नेता नेपाल अध्यक्ष खनाललाई संसदीय दल नेतामा सहयोग गर्न तयार भएका हुन् । संगठनमा पकड रहेका भनिएका महासचिव ईश्वर पोखरेल पनि खनाल–नेपाल पक्षमा रहेकाले सो समूह ओली–गौतम गठबन्धनभन्दा केही बलियो देखिएको छ ।

नेपाल र ओली आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने दाउमा छन् । एमालेमा हालसम्म पार्टी अध्यक्ष नै संसदीय दलको नेता बन्ने प्रचलन रहि आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us