कोइरालाको नेतृत्वमा बहुमतीय सरकार गठन गर्न कांग्रेसको प्रस्ताव

काठमाण्डु टुडे २०७० माघ २१ गते ३:२४ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २१ माघ – नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा बहुमतीय सरकार गठन प्रस्ताव गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा अन्तरिम संविधानको धारा ३८ दुई बमोजिम सभापति कोइरालाकै नेतृत्वमा सहमतीय सरकार बनाउने प्रस्ताव भएको हो ।

‘कानुन अनुसार बहुमतीय भनिएपनि अधिकतम दलहरुसँग सहमति गरी सरकार निर्माणको प्रक्रिया अघि सारिनेछ,’ बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले काठमाण्डु टुडेसँग भने, ‘त्यसका लागि अरु दलसँग वार्ता गर्ने जिम्मा सभापतिलाई नै दिने निर्णय भएको छ ।’

उनले एक वर्षभित्र संविधान निर्माण गर्ने दलहरुको बाचा पुरा गर्न सहयोग हुने गरी अधिकतम दलहरुको सहभागितमा सरकार निर्माण गर्नुपर्नेमा जोड दिइएको बताए ।

बडुले एमाले, एमाओवादीलगायतका दलहरुसँग सहमति गरी सरकार निर्माणको कामलाई छिटो अघि बढाउन पार्टी सभापति कोइरालालाई जिम्मा दिइएको जानकारी दिए ।

यसअघि मंगलबार नै बसेको व्यवस्थापिका संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले आउँदो २७ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

उनले यसअघि नेता नरहरि आचार्यको संयोजकत्वमा बनाइएको समितिले दिएको सुझावमाथि पनि छलफल भएको बताए ।

कांग्रेसले गत पुषमा आचार्यको संयोजकत्वमा संविधान निर्माणमा पार्टीका तर्फबाट सुझाव दिनसमिति बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us