
काठमाण्डु, २१ माघ – नेपालस्थित अमेरिकी दूतावासले अमेरिकामा बसोबास गर्ने काला जातिहरुको इतिहास झल्काउने ‘ब्ल्याक हिस्ट्री मन्थ’को अवसरमा राजधानीमा सांगीतिक कार्यक्रम गर्न लागेको छ ।
कला क्षेत्रमा अफ्रिकी–अमेरिकीहरूको योगदानको सम्मानस्वरुप दूतावासले फेब्रुवरी महिनाभरि हरेक शुक्रबार राजधानीका विभिन्न स्थानमा कन्सर्ट र गोष्ठी राखेको छ ।
उक्त कन्सर्टमा नेपाली सङ्गीतकारहरूले ब्लुज्, ज्याज, फङ्क, सोल र मोटाउन् विधाका सङ्गीत अर्पण गर्नेछन् । कन्सर्टहरू अमेरिकी सांगीतिक प्रभाव र स्थानीय परम्परागत स्वादको उर्जात्मक सम्मिश्रण हुने दूतावासले जनाएको छ ।
अफ्रिकी–अमेरिकीहरूको सम्पदा र अमेरिकी समाजमा उनीहरूले पुर्याएको योगदानको सम्मानस्वरुप सो महोत्सव आयोजना गर्न लागिएको हो । सन् १९६४ को नागरिक अधिकार ऐनको ५० औँ वार्षिकोत्सवको अवसरमा ‘दी असोसिएसन फर द स्टडी अफ अफ्रिकन–अमेरिकन लाइफ एन्ड हिस्ट्री’ले यस वर्षको महोत्सवको मूल विषय ‘अमेरिकामा नागरिक अधिकार’ राखेको छ ।
‘यो महोत्सवले विविधता र बहुलवादको महत्वलाई जोड दिन्छ । यी दुई कुरा विश्वभर सामाजिक न्यायको लागि अभिन्न अङ्गका रुपमा मानिन्छन्,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ब्लुज्, फङ्क वा ज्याज सङ्गीतको यो महोत्सव यही माघ २४ गते प्रारम्भ भई फागुन १६ गते सम्पन्न हुनेछ । यो महोत्सवका अवसरमा हाउस अफ म्युजिक, केजेसी, झम्सीखेल, ललितपुर तथा नव आशा गृह विद्यालय, टोखामा कन्सर्ट र गोष्ठी आयोजना हुने बताइएको छ ।