कागजी विद्यालयका सञ्चालकसँग बयान

काठमाण्डु टुडे २०७० माघ १८ गते ४:५४ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogजनकपुरधाम, १८ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबारदेखि धनुषा जिल्लामा कागजी रुपमा सञ्चालित विद्यालयका सञ्चालकहरूसँग बयान लिन सुरु गरेको छ ।

अख्तियारको टोलीले कागजी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षकसँग समेत बयान लिने कार्य सुरु गरेको हो ।

यसअघि धनुषामा कागजी विद्यालय रहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा चार सदस्यीय टोलीले छड्के निरीक्षण गर्दा २५ भन्दा बढी विद्यालयको कामकाज शङ्कास्पद देखिएको थियो ।

अख्तियारले विद्यालयको कागजपत्रको विवरणका साथै हालसम्म जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, गाउँ विकास समितिलगायत अन्य सङ्घसंस्थाबाट निकासा लिएको रकम, शिक्षकको सङ्ख्या, विद्यार्थी संख्यालगायतको अध्ययन तथा विश्लेषण गरी बयानको प्रक्रियालाई अगाडि बढाएको छ ।

कारबाहीमा परेका विद्यालयहरूलाई हालसम्ममा के कति रकम निकासा गरेको हो भनी जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति र सम्बन्धित गाविस सचिवलाई पत्राचार गरी विवरणसमेत माग गरिएको छ ।

अख्तियारद्वारा गरिएको छड्के निरीक्षणका क्रममा जनकपुर नगरपालिका–४, सरस्वतीनगरमा अवस्थित राम जानकी प्राथमिक विद्यालय र जानकी गुरुकुल विद्यालय, बसहिया–७ गिरनारी प्राथमिक विद्यालय, तुलसियाहीका सरस्वती तुलसी मेहर प्राथमिक विद्यालय, रमदैया भवाडी–९ का आदर्श प्राथमिक विद्यालय, वडा नं. ५ को डिहवार बाबा प्राथमिक विद्यालय, रमदैयाभबाडी–२ का श्रीप्राथमिक विद्यालय, भुतहीका  सोनाई भैया नागेश्वर साह प्राथमिक विद्यालय, बरमझिया–५ का सरस्वती प्राथमिक विद्यालय, कनकट्टीका ज्ञान ज्योति प्राथमिक विद्यालय, लक्ष्मीनिवास–३ चित्रपुर बाँसबारीका विद्यालयलगायत २५ भन्दा बढी विद्यालय कारबाहीमा परेका छन् ।

ती कागजी विद्यालयले जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति, गाउँ विकास समितिलगायत अन्य सङ्घसंस्थाहरूबाट रकम निकासा लिँदै आए पनि पठनपाठन भने सञ्चालन नगरेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us