साना हतियार बरामद गर्दै प्रहरी

काठमाण्डु टुडे २०७० माघ १८ गते ३:२९ मा प्रकाशित

hatiyar1सुर्खेत, १८ माघ – केही समयदेखि अपराध नियन्त्रणका लागि भन्दै साना हतियार बरामद अभियानमा लागेको यहाँको प्रहरीले धमाधम हतियार बरामद गर्न थालेको छ ।

जिल्लामा साना हतियारको कारोवार बढेको र साना हतियारले नै अपराध निम्त्याएको निष्कर्ष निकाल्दै प्रहरीले यो अभियानलाई तीव्रता दिएको हो । हतियार बरामद अभियान सुरु गरेको एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ वटा साना हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

यस अवधिमा तीनवटा पेस्तोल र तीनवटा भरुवा बन्दुक गरी ६ वटा हतियार बरामद गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । एउटा कटुवा पेस्तोल र दुईवटा आधुनिक पेस्तोल तथा अरु तीनवटै भरुवा बन्दुक बरामद गरिएको उनको भनाइ छ ।

बरामद गरिएका दुईवटा पेस्तोल कुनै पनि देशको सुरक्षा निकायलाई मात्रै प्रयोग गर्न अनुमति दिइने र यस्ता प्रकारका पेस्तोल नेपालको सुरक्षा निकायसँग नभएको उनको भनाई छ ।

जिल्लामा धेरै व्यक्तिसँग साना हतियार भएको पुष्टि भइसकेको र बरामद गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ । केही व्यक्तिका घरमा पटकपटक छापा हान्दा पनि व्यक्ति हतियारसहित फरार रहेको प्रहरीको दावी छ । एक महिनाअगाडि यहाँ लगातार दैनिक गोली चलेपछि प्रहरीले हतियार बरामद अभियान थालेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us