सहमतीय सरकार गठनको सम्भावना सकियो

काठमाण्डु टुडे २०७० माघ १८ गते १३:२७ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, १८ माघ– राजनीतिक दलबीच हालसम्म भइरहेको छलफलका आधारमा सहमतीय सरकार गठनको सम्भावना सकिएको छ । शनिबार बसेको सर्वदलीय बैठकमा राप्रपा नेपालले लिखित रुपमै असहमति जनाएपछि सहमतीय सरकार गठन हुने संभावना सकिएको हो ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय सीमा दिएका थिए । अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम राष्ट्रपति डा रामवरण यादवले गएको १२ गते सहमती सरकार गठनको आव्हान गरेका हुन् ।

व्यवस्थापिका–संसद्को ठूलो दलको हैसियतले काँग्रेसका सभापति एवम् संसदीय दलका नेता कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि प्रायः सबै जसो दलले सहयोग र समर्थनको प्रतिबद्धता जनाएका छन् ।

शनिबारको सर्वदलीय बैठकमा सहभागीमध्ये १३ राजनीतिक दलले लिखितरुपमै  समर्थनसहितको पत्र हस्तान्तरण गरेका थिए । सर्वदलीय बैठकमा नेकपा(एमाले), मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) सहित साना ठूला २२ राजनीतिक दलका प्रतिनिधि र दुई स्वतन्त्र सभासद्ले भनाइ राखेका थिए ।

राष्ट्रपतिले आह्वान गरेअनुसार लिखित रुपमै काँग्रेसका सभापति कोइरालालाई अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम प्रधानमन्त्रीमा चयन गर्न तयार छौँ भनेर सहमतीय सरकार गठनका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने ३० वटै राजनीतिक दलले प्रतिबद्धता जनाउनु आवश्यक रहन्छ । अन्यथा सहमतिको सम्भावना नरहेको प्रस्ट हुन्छ ।

दलहरुबीच हालसम्म भएका वार्ता र  छलफलबाट त्यो सम्भावना हराउँदै गएको देखिन्छ । यद्यपि दलहरुले लोकतान्त्रिक आन्दोलनमा लामो समयसम्म निष्कलंक रही महत्वपूर्ण योगदान दिएका सभापति कोइरालालाई प्रधानमन्त्रीका लागि सहयोग र समर्थन दिने मौखिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकपछि एमालेका नेता सुवास नेम्वाङले सहमतीय होस् वा बहुमतीय जुनसुकै प्रकारको सरकार गठन भए पनि काँग्रेसका सभापति कोइरालालाई सहयोग र सर्मथन रहने दलीय प्रतिबद्धता व्यक्त गरे ।

यस्तै फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीले सर्वदलीय बैठकमा काँग्रेस सभापति कोइरालाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको जानकारी दिए । राप्रपा नेपालले सहमतीय सरकार गठनप्रति आफ्नो विमति रहेको जनाउँदै लिखितरुपमै विरोध जनाएकाले राष्ट्रपतिले आह्वान गरेअनुसार सहमतीय सरकारको सम्भवाना सकिएको उनको प्रतिक्रिया थियो ।

काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पार्टी सभापति कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठनका लागि सबै दलको सहयोग र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलबाट व्यक्त भएका भावना अत्यन्तै सकारात्मक र सौर्हाद्रतापूर्ण रहेकाले आइतबार बेलुकासम्म सबैको समर्थन प्राप्त गरी सभापति कोइरालाको नेतृत्वमा राष्ट्रपतिसमक्ष सहमतीय सरकार गठनका लागि जाने प्रवक्ता बडूले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us