नेफ्टा अवार्ड क-कसको पोल्टामा ?

काठमाण्डु टुडे २०७० माघ १८ गते २:१२ मा प्रकाशित

काठमाण्डु, १७ माघ – मलेसियामा सम्पन्न छैटौं नेफ्टा अवार्डमा ‘फिल्म मेरो लभ स्टोरी’ फिल्मबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री ऋचा शर्माले उत्कृष्टको अवार्ड उचालेका छन् । उत्कृष्ट ठहरिएको फिल्म ‘काठमाण्डू’ का निर्देशक आकाश अधिकारीले उत्कृष्ट निर्देशकको अवार्ड आफ्नै पोल्टामा पारे ।

 फिल्म ‘फेसबुक’बाट अभिनेत्री झरना थापाले उत्कृष्ट खलपात्रको अवार्ड पाइन् । उत्कृष्ट पटकथाकारसँगै निश्चल बस्नेतले फिल्म ‘लुट’बाट नयाँ निर्देशकको अवार्ड उचाल्दा ‘सायद’ का संयम पुरी र ‘अन्दाज’ का सविन श्रेष्ठलाई नव अभिनेताको अवार्ड बाँडियो । नव अभिनेत्रीको अवार्ड ‘काठण्माडू’बाट प्राप्ती घिमिरेले पाइन् । विल्सन विक्रम राई ‘सायद’ फिल्मबाट उत्कृष्ट हाँस्य कलाकार ठहरिए ।

nefta-in2

‘साथी म तिम्रो’बाट शिर्षक सापकोटाले उत्कृष्ट बालकलाकार तर्फको अवार्ड पाए । उत्कृष्ट संगीतकारको अवार्ड फिल्म ‘मायाज बार’बाट सुरेश अधिकारीले प्राप्त गरे । ‘मायाज बार’कै ‘सरसर…’ बोलको गीतबाट राजेश पायल राईले उत्कृष्ट पुरुष गायकको अवार्ड पाउँदा ‘अन्दाज’ फिल्मको ‘सिम्पल सिम्पल कान्छीको’बाट माण्डवी त्रिपाठीले उत्कष्ट महिला गायकको अवार्ड पाइन् । उत्कृष्ट गीत रचनामा फिल्म ‘पल’बाट किरण खरेलले अवार्ड पाए भने ‘पल’बाटै उत्कृष्ट कथाको अवार्ड कर्ण शाक्यलाई दिईयो ।

उत्कृष्ट पटकथाकारको अवार्ड ‘फर्कि आऊ’ फिल्मबाट ओम प्रतीकले पाए । ‘मेरो लभ स्टोरी’ बाट राजेश श्रेष्ठले उत्कृष्ट छायाँकार र यसै फिल्मबाट सरोज पाण्डेले उत्कृष्ट श्रृङ्गारको अवार्ड उचाले । ‘रावण’ फिल्मबाट चन्द्र पन्तले उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड पाए । फिल्म ‘मालतीको भट्टी’बाट रेनशा राईले उत्कृष्ट नृत्य निर्देशक र ‘के यो माया हो’बाट नीलिमा शर्माले उत्कृष्ट कस्ट्युम डिजाइनर अवार्ड पाए ।

उत्कृष्ट संगीत संयोजनको अवार्ड ‘अन्दाज’ फिल्मका लागि महाराज थापाको पोल्टामा पर्यो । उत्कृष्ट ब्याग्राउन्ड स्कोररको अवार्ड ‘मायाज बार’बाट एलिश कार्कीले लगे । उत्कृष्ट कला निर्देशकको अवार्ड ‘मसान’ फिल्मबाट निर्जल श्रेष्ठले पाए । उत्कृष्ट साउण्ड मिस्किङको अवार्ड ‘लुट’बाट उत्तम न्यौपानेले पाए । उत्कृष्ट सम्पादनको अवार्ड ‘लुट’बाट सुरेन्द्र पौडेलले पाए । यता अभिनेता सौगात मल्लले ‘लुट’बाट पपुलर कलाकारको अवार्ड उचाले भने ‘सायद’ निर्देशक सुरज सुब्बा नाल्बोले जुरी अवार्ड पाए ।

क्वालालम्पुरको सेतियो सिटि कन्भेन्समा सम्पन्न अवार्डमा वरिष्ठ कलाकार नीर शाहलाई अभिनय शिरोमणीको उपमा दिदैं ताम्रपत्र तथा खादा ओढाएर सम्मन गरियो । निर्देशक शाहले सम्मान तथा उपमा नेपाली फिल्म क्षेत्रले दिएको स्नेह र माया रहेको भनाई राखे । उनले भने- ‘यो सम्मान मेरी आमा, श्रीमती र सम्पूर्ण फिल्मकर्मीप्रति समर्पण गर्न चाहन्छु ।’

सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण गरिएको अवार्ड कार्यक्रममा झन्डै एक दर्जन कलाकारले नृत्य प्रस्तुत गरेका थिए । नृत्य निर्देशकद्ध गोविन्द राई र कमल राईले महिनौं लगाएर कलाकारलाई नृत्यको प्रशिक्षिण दिएका थिए । अभिनेत्री निरुता सिंहबाट सुरु भएको नृत्य प्रस्तुती सञ्चारकर्मीद्धय बिजय आवाज र सुमन गैरेको साथमा अभिनेत्री बेनिशा हमालबाट समापन भएको थियो ।

 कार्यक्रममा गजित बिष्ठ, नन्दिता केसी, हर्षिका श्रेष्ठ, नीलिमा शर्मा, गौरव पहारी, सविन श्रेष्ठ, झरना थापा, यशराज गरच, नीता ढुंगाना, सौजन्य सुब्बा लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायक राजेश पायल राईले गीत गाएर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री ऋचा शर्मा र सञ्चारकर्मी तथा कमेडी भिजे संदीप क्षेत्रीले सञ्चालन गरेको उक्त अवार्ड समारोहमा अभिनेता राजेश हमालले निर शाहको बयान गर्दै आफ्ना फिल्मका डाईलग सुनाएका थिए ।

 चैत १४ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’ को टिचर तथा गीत पनि अवार्डमा सार्वजनिक गरिएको थियो । फस्ट लुक रिलिज गर्न निर्देशक, कलाकार तथा निर्माता मलेसिया आएका थिए ।

– फिल्मी खबरबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us