
काठमाण्डु, १८ माघ – नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा शुक्रबार मलेसियामा सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापा अनुपस्थित रहिन् । उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेकाबेला रेखाले वक्तव्य निकालेर यसको कारण सार्वजनिक गरेकी छिन् ।
वक्तव्यमा रेखाले आफू निर्माणधिन नयाँ चलचित्र हिम्मतवाली र रेखा थापा फाउन्डेसनको काममा व्यस्त रहेकाले नेफ्टा अवार्डमा जान नपाएको प्रष्ट पारेकी छिन् ।
‘कार्यक्रममा मेरो उपस्थितिको सम्बन्धमा आयोजकबाट मलाई जानकारी नआएको होईन,’ रेखाले विज्ञप्तिमा भनेकी छिन् ‘कार्यव्यस्तताले उपस्थित हुन नसक्ने जानकारी गराउँदा पनि रेखा थापाले धोका दिईन भनी प्रचार गरिनुले अन्याय भएको ठहर गरेकी छु ।’
आफूले समारोहमा उपस्थित हुन नसक्ने जानकारी गराउँदा पनि प्रचार सामाग्रीमा आफ्नो फोटो राखेर प्रचार गरिएकोमा अशन्तुष्टि जनाउँदै रेखाले कार्यक्रममा उपस्थित नभए आफूले पाउने अवार्डसमेत अर्कैलाई दिन्छु भनी धम्कीपूर्ण दबाब दिएको खुलासा गरेकी छिन् ।
साथै उनले विज्ञप्तिमा दैनिक मजदुरी गर्ने प्राविधिकहरुको नामबाट आयोजित कार्यक्रममा पञ्चानब्बे प्रतिशत प्राविधिकलाई नै प्रवेश निषेध गरिनु अन्यायपूर्ण भएको उल्लेख गरेकी छिन् ।