डोल्पामा यातायात नहुनुको पीडा

काठमाण्डु टुडे २०७० माघ १७ गते २:०७ मा प्रकाशित

डोल्पा, १७ माघ – केन्द्रसम्मको पहुँचको हिसाबले सबैभन्दा दुर्गम मानिएको डोल्पा जिल्ला सडक सञ्जालले छुन नसकेको देशकै एक मात्र जिल्ला हो । यहाँ जिल्लाबाहिर आवतजावत गर्नका लागि हवाई यातायातमा निर्भर रहनु परेको छ ।

सामान्य स्वास्थ्य परीक्षण गर्नसमेत हवाई यातायत नै कुर्नुपर्ने बाध्यता भएकाले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने पीडा तथा नेपाली नागरिक भएर पनि भौगोलिक विकटताका कारण निःशुल्क पाउने आधारभूत शिक्षासमेत लिन नपाउनु डोल्पालीको रहर नभई बाध्यता रहेको छ ।

डोल्पामा जुफाल विमानस्थल र मसिनेचौर विमानस्थल गरेर दुईवटा विमानस्थल भएता पनि आवतजावत गर्न चार–पाँच दिनको पैदल यात्रा नै तय गर्नु डोल्पालीको बाध्यता हो भने विभिन्न दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्न खच्चडमा भर पर्नुपर्ने भएकाले विमानस्थलन हुनु कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तो हुने स्थानीयवासीले बताएका छन् ।

विमान प्रदायक कम्पनीहरुले कमभन्दा कम उडान गर्ने र भाडा महँगो लिने प्रवृत्तिले गर्दा हवाईजहाजको यात्रा सर्वसाधारणको पहुँचमा नभई ठूलाबडाको मात्र पहुँचमा रहेको स्थानीयवासी राजेन्द्र रोकायाले बताए ।

शैक्षिकसत्र सुरु भएको दुई महिनापछि सम्म पनि पुस्तकहरु नपुगी विद्यार्थीको पठनपाठनमा समेत प्रभाव पर्नु यातायातको प्रमुख भूमिका रहने शिक्षक रामानन्द उपाध्यायले बताए । यातायातको अभावमा कहिलेकाहीँ पैसा तिरेर पनि दैनिक उपभोग्य वस्तु उपलब्ध नहुनु, समयसमयमा दैनिक उपभोग्य वस्तुको अभाव भई महँगीको मार खेप्नुपर्ने डोल्पाली जनताको बाध्यता रहेको छ ।

वर्षभरि गरेको खेतीले तीन महिना पनि खान नपुग्ने हुँदा नेपाल खाद्य संस्थानको मुख ताक्नुपर्ने बाध्यता डोल्पालीमा रहेको छ । नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान ढुवानीमा लापरबाही गरी ताकेता नगर्दा समयसमयमा खाद्यान्न अभावको मार खेपिरहनुपर्ने बलबहादुर थापाको भनाइ छ ।

आर्थिक तथा पर्यटकीय दृष्टिकोणमा डोल्पा अरू जिल्लाभन्दा अगाडि नै भएता पनि यातायातको असुविधाको कारण बहुमूल्य जडीबुटी यार्सागुम्बा, पदमचाल, डाले चुक, जटामसी, कटुसलगायत विभिन्न किसिमका जडीबुटी ढुवानी गरी व्यापारिक केन्द्रसम्म पु¥याई आर्थिक विकास गर्न यातायात नभई नहुने एक विकासको प्रमुख पूर्वाधार रहेको डोल्पालीले महसुस गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us