नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

काठमाण्डु टुडे २०७० माघ १७ गते १:४० मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, १७ माघ – एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा नवौं स्थनामा चित्त बुझाएको नेपाली राष्ट्रिय क्रिकेट टिम विहीबार स्वदेश फर्किएको छ । टोली विहीबार राति सवा १० बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कम्तिमा पनि एकदिवसीय मान्यता पाउने लक्ष्यका साथ न्युजिल्याण्ड पुगेको टिम समूह चरणका सबै र सातौं स्थानका लागि भएको प्लेअफमा नेदरल्याण्डसँग समेत पराजित भएको थियो ।

डिभीजन टूमा झर्ने नझर्ने निश्चित नभएपनि सन २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्ने एकदिवसीय विश्वकप प्रतियोगिता खेल्ने नेपालको सपना भने तुहिएको छ ।

१० वटा टोलीको सहमागिता रहेको प्रतियोगितामा अन्तिम दुई स्थानमा रहेका नेपाल र युगाण्डा डिभीजन ‘थ्री’मा झर्ने कि ‘टू’ मै रहने भन्ने कुराको निधो आइसीसीको जारी बैठकले गर्ने छ । आइसीसीले एसोसिएट/एफिलिएट देशहरुलाई लक्षित गरेर नयाँ कार्यक्रम ल्याउने सम्भावना छ ।

स्वदेश फर्किए लगत्तै नेपाली टोली ट्वान्टी–ट्वान्टी विश्वकपको तयारीमा लाग्ने छ । अभ्यासका लागि श्रीलंका जाने बताइएपनि मिति र खेल तालिका सार्वजनिक भएको छैन ।

चैत २ गतेदेखि बंगलादेशमा हुने ट्वान्टी–ट्वान्टी विश्वकपको प्रारम्भिक चरणमा नेपालले घरेलु टोली बंगलादेशसँगै अफगानिस्तान र हङकङको सामना गर्नेछ । नेपालले चैत २ गते हङकङ, ४ गते टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेश र ६ गते अफगानिस्तानको सामना गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us