सहिद दिवसको अवसरमा कसले के भने ?

काठमाण्डु टुडे २०७० माघ १६ गते २:४७ मा प्रकाशित

sahid-1काठमाण्डु, १६ माघ – आज सहिद दिवस । देशकालागि बलिदानी गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुको सम्झना गरेर मनाईंदैछ ।

विशेषगरी १ सय ४ वर्षिय जहानीयाँ राणा साशन विरोधी आन्दोलन तथा त्यसपछि प्रजातन्त्र पुनर्स्थापना र लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा साहदत प्रप्त गर्ने सहिदहरुको सम्झनामा सहिद दिवस मनाउन लागिएको हो ।

विगतका वर्षहरुमाजस्तै यसवर्ष पनि साताव्यापी रुपमा विभिन्न कार्यक्रम भएका छन् ।

यसै अवसरमा शुभकामना दिँदै राष्ट्रपति यादवले वीर सहिदहरूको सपनालाई साकार पार्न नयाँ संविधान निर्माणको कामलाई समयमै सम्पन्न गर्नु पर्ने बताएका छन् ।

सबैको आपसी सहमति र सहकार्यमा लोकतान्त्रिक संविधान निर्माण गर्न बल पुग्ने उल्लेख गर्दै उनले सहिदका सम्झनाले राजनीतिक स्थायित्व कायम गरी मुलुकको आर्थिक समृद्धि र सामाजिक विकासका लागि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

देशमा स्वच्छ राजनीतिक संस्कारको विकास एवम् आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरूप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ भन्ने हेक्का राख्नु जरुरी भएको राष्ट्रपति यादवको भनाई छ ।

साथै उनले राष्ट्रको उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि गरेका छन् ।

यस्तै, उपराष्ट्रपति परमानन्द झाले दिएको शुभकामना सन्देशमा लोकतन्त्र तथा गणतन्त्र स्थापना गर्नका लागि सहिदहरूको योगदानलाई कदर गर्दै निर्भिकरूपमा देश र जनताका लागि आफ्नो जीवनको बलिदानी दिने सहिदहरूप्रति सम्मान व्यक्त गरिएको छ ।

सन्देशमा भनिएको छ, ‘सहिदहरूको बलिदानी जुन उद्देश्यको निम्ति भएको थियो, त्यसको प्राप्तीको स्थायित्वका लागि सम्पूर्ण देशबासी सबै एक भएर लाग्न, म सबैकौ ध्यानाकर्षण गराउन चाहन्छु ।’

संविधानसभामार्फत लोकतान्त्रिक संविधानको निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले एकताबद्ध हुँदै शान्ति र समृद्धिको बाटोमा दृढतापूर्वक अघि बढ्न सकेमा मात्र सहिदहरूप्रतिको सार्थक श्रद्धाञ्जलि हुने बताएका छन् ।

यसैगरी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपाली परिवेश र आवश्यकताअनुरूपको संविधान जारी गरी देशमा शान्ति र स्थायित्व कायम गर्दै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासको मार्गमा अग्रसर हुनसके मात्र सहिदहरूको बलिदानको कदर हुने बताएका छन् ।

साथै रेग्मीले संविधान निर्माणको महाअभियानमा रचनात्मक भूमिका निर्वाह गर्न सबैसँग आग्रहसमेत गरेका छन् ।

‘सहिद दिवस–२०७० का अवसरमा राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणका क्रममा आफ्नो प्राण उत्सर्ग गर्नुहुने समस्त सहिदप्रति उच्च सम्मान गर्दै भावपूर्वक श्रद्धासुमन व्यक्त गर्दछु ।’ रेग्मीले भनेका छन् ।

यता, नेपाली काँग्रेसले सहिद दिवसका अवसरमा सम्पूर्ण नागरिकको हक अधिकारको निम्ति लड्दा आफनो जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदलाई श्रद्धाञ्जलि अर्पण गरेको छ  ।

पार्टी सभापति सुशील कोइरालाद्वारा जारी सन्देशमा मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको आवाज उठाउने सहिदकै साहसिक कार्य र बलिदानको परिणामस्वरूप लोकतान्त्रिक वातावरणमा निर्धक्क भएर आफ्ना हक अधिकार प्रयोग गर्न पाएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us