विहे दर्ता गरेबापत १५०० घुस !

काठमाण्डु टुडे २०७० माघ १५ गते १२:१४ मा प्रकाशित

गुल्मी – विवाह दर्ता गरिदिएबापत गुल्मीको दोहोली गाविस सचिवले एक हजार पाँच सय घुस लिएको रहस्योद्घाटन भएको छ ।

दोहोली–९ निवासी रामबहादुर खत्री र श्रीमती लोकमायासँग विवाह दर्ताको प्रमाणपत्र बनाउँदा गाविस सचिव भीमप्रसाद पोखरेलले सो रकम घुस लिएको रहस्योद्घाटन भएको हो । ‘पहिला नागरिकता बनाउँदा केही लाग्दैन भनेर विवाह दर्ता गरेको ५०० दिएँ,’ खत्रीले भन्ने, ‘पछि नागरिकता आउनेबेला उहाँले श्रीमतीसँग एक हजार मागेर लानुभयो ।’

ती दम्पतीले नागरिकता बनेपछि आफूसँग भारत जाने बाटो खर्च नभएको भन्दै मितभाइलाई गुहारेपछि यस्तो पोल खुलेको हो । उनका मितभाइ देवराम गिरीले गाविस सचिवले बाटो खर्चबापतको रकम घुस लिएपछि दाजुहरू समस्यामा परेको भन्दै पत्रकारलाई गुहारेका थिए । ‘भारत जान भाडा पुगेन भनेर दाजु भाउजूले फोन गर्नुभयो, बुझ्दै जाँदा गाविस सचिवले बाटा खर्च खाइदिएछन्’ उनले भने ।

पत्रकार बोलाएपछि सचिव पोखरेलले घुसबापतको एक हजार फिर्ता मागेमा नागरिकता जफत गरीदिने धम्की दिएको लोकमायाले बताइन् । ‘सचिवले यति दुःख गरेर बनाइयो, अलिअलि चियापानी त हाम्लाई पनि चाहियो नि भन्नुयभो’ , लोकमायाले भनिन्, ‘हतार थियो, दियौँ, अहिले पैसा फिर्ता मागे नागरिकता जफत हुन्छ भन्नुभएको छ ।’

गाविस सचिव पोखरेलले पनि रकम लिएको स्वीकार गरेका छन् । गोरखा माइत भएकी लोकमायाका कागजपत्र मगाउन र प्रशासनमा कर्मचारीलाई कागजपत्र मिलाउनका लागि आफू पुल बनेर पैसा लिएको उनको भनाइ थियो ।

‘उहाँहरू चार÷पाँच दिनदेखि सदरमुकाम बस्नुभएको छ, छिटो काम गराउनका लागि मैले पनि प्रशासनमा खर्च बुझाउनु पर्छ । केही रकम गोरखाबाट फ्याक्स मगाउँदा खर्च भयो’ भन्दै उनले यसरी आफ्नो सफाइ दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us