चितवनमा चौध हजार चरा भेटिए

काठमाण्डु टुडे २०७० माघ १४ गते १:१६ मा प्रकाशित

चितवन, १४ माघ – चितवनमा यस वर्ष चराको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष चार हजार ४६ भन्दा बढी चरा रहेको तथ्यांकले देखाएको छ ।
बर्ड एजुकेसन सोसाइटी चितवनले गरेको गणनामा चितवनमा यस वर्ष १४ हजार ७८ चरा रहेको पाइएको हो ।

यसअघि गत वर्ष १० हजार ३२ चरा चितवनमा रहेको पाइएको थियो । यस वर्ष पानीमा मात्र पाइने चराहरुको संख्या ६ हजार ७९५ रहेको सोसाइटीका अध्यक्ष वासु बिडारीले जानकारी दिए ।

सोसाइटीले गरेको गणनामा दिव्यनगरमा एक हजार ९३२, सौराहादेखि कसरासम्म चार हजार २३८, बूढीराप्तीमा ५२८, डुङ्ग्री खोलामा २५७, लामी तालमा २०२, तमोर तालमा ५२, बिसहजारी तालमा ५३३, गरुड तालमा ५३६ र गैडहवादेखि सौराहाको डुङ्गाघाटसम्म पाँच हजार ८०० चरा पाइएको छ । गतवर्ष देखिएकामध्ये तीन प्रजातिका चरा यस वर्ष नदेखिएको अध्यक्ष बिडारीले जानकारी दिए ।

गत वर्ष देखिएकामध्ये टाउके हाँस, लाल ठुडे चखेवा र बेल्चा ठुडे हाँस नदेखिएको हो । यस वर्ष चितवनमा ४९ प्रजातिका चरा भेटिएका छन् । जनवरी ११ देखि २६ तारिखसम्म चितवन राष्ट्रिय निकुञ्ज र जिल्लाका नौवटा नदी र तालमा गरिएको चरा गणनाका लागि १०८ पथप्रदर्शक र डुंगा प्रयोग गरिएको थियो ।

चरा गणनाको संयोजन सोसाइटीका सदस्य तथा पक्षीविद् टीकाराम गिरीले गरेका थिए । सोसाइटीले प्रत्येक वर्ष चरा गणना गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us